काठमाडौँ । विशेष अदालतले पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहलाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार सिंहलाई बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको हो ।
सोही प्रकरणमा संलग्न पूर्वमन्त्री प्रेमबहादुर सिंहलाई भने ५० हजार रुपैयाँ धरौटीमा छुटाइएको छ । आइतबार नै दुवै अभियुक्तको बयानपछि थुनछेक बहस सम्पन्न भएको थियो ।
नेपालमा कम्पनी दर्तादेखि व्यावसायिक कारोबारसम्मको सम्पूर्ण जिम्मेवारी पाएका शालिग्राम सिंह यस प्रकरणका मुख्य अभियुक्त हुन् ।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्को विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय गरेको थियो । त्यसपछि नेपाल सरकारले उक्त जग्गा फरक प्रयोजनमा बेच्न स्वीकृति दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुट दिने र त्यस्तो जग्गा बिक्रीको अनुमति दिने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो। यसअघि पूर्वप्रधानमन्त्री नेपाल पनि ३५ लाख धरौटीमा छुटेका थिए।