काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ ।
जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ, जसले जनजीवनमा असर पार्न सक्छ । बाँकी भूभागमा सामान्यतया बदली छ।
मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहनेछ र बाँकी भूभागमा सामान्यतया बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशभर मनसुन सक्रिय छ र कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पार्न सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।