काठमाडौं । एक बर्षभित्र सिंचाई बिभागमा ४ पटक महादिर्नेशक (डीजी) फेरेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले फेरि सिंचाईतर्फ आँखा लगाएका छन् ।
सेटिङमा सरुवा गर्दै आएका उर्जामन्त्री खड्काले आज सार्वजनिक विदाको दिन पनि मन्त्रालयका कर्मचारीहरुलाई मन्त्री क्वार्टरमा बोलाएर सरुवाको काम लगाएको स्रोतको दावी छ ।
सिंचाईतर्फको उपसचिव(सीडीई) र सहसचिव(सुई)को सरुवाको सूची बनाउने र सोमबारको मितिमा आजै सदर गर्ने गरी मन्त्री खड्का केही कर्मचारी लिएर मन्त्री क्वाटर भैंसेपाटी पुगेका हुन् ।
आफ्नै निवासमा बस्दै आएका उनी सरुवाकै लागि आज भैसेपाटी पुगेको स्रोत बताउँछ । मन्त्री खड्काले प्रशासन महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनीदेखि सिंचाईतर्फकी सचिव सरिता दवाडीलाई समेत भैंसेपाटी बोलाएका छन् ।
भैंसेपाटीमा बिहानदेखि नै सेटिङमै रानीजमरा कुलरिया सिंचाई आयोजना, सिक्टा सिंचाई, भेरी बबई डाइभर्सन लगायत ठूला सिंचाई प्रमुखसमेत फेरेर सेटिङमा सरुवा गर्न लागिएको स्रोत बताउँछ । अन्य सिंचाई आयोजनाका प्रमुखहरुको पनि फेरबदल हुँदैछ ।
ठूलो आर्थिक चलखेल गरेर मन्त्री खड्काले डीई र सुईको सरुवा तयारी गरेका हुन् ।