Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपहारको मात्र होइन, आपसी सम्बन्ध र पहिचानको पर्व 'ओल्के' !

उपहारको मात्र होइन, आपसी सम्बन्ध र पहिचानको पर्व 'ओल्के' !

आइतवार , भाद्र १, २०८२

सुदूरपश्चिमेली जीवनसँग गहिरो सम्बन्ध राख्ने मौलिक पर्व 'ओल्के' श्रावण मसान्त अर्थात् भदौ १ गते उत्साहसाथ मनाइन्छ । डोटेली भाषाअनुसार 'ओल्को' भन्नाले सम्मानित वा ठुलाबडा व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।

परापूर्व कालदेखि नै यो पर्व श्रावण मसान्त अर्थात् भाद्र १ गते मनाइन्छ । बिहानै  उठेर नुहाई धुवाई गरी घरदैलो लिपपोत गरी धार्मिक स्थलको पूजापाठ र दर्शन गरिसके पछि  ‘ओल्को’ बोकेर मान्यजन वा माइतीको दर्शनभेट, आशीर्वाद ग्रहण गर्ने कार्य सुरु गरिन्छ ।

ठुलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका त मुख्य विशेषता नै हुन् । यो सबै खाले समाजमा पाइन्छ। त्यसै गरी उपहार लिने दिने प्रचलन पनि प्राय सबै समाजमा विद्यमान छन् ।

तर हाम्रो ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै सीमित गरिदिँदा समकालीन सामाजिक मनोभावको ठ्याक्कै अभिव्यक्ति नहुन सक्छ। ओल्को लिनु दिनु त्यहाँको संस्कृति, परम्परा र आस्थाको प्रतीक पनि हो ।

सुदूरको लोक जीवनमा वर्षाको यामलाई अति विपत्तिको  समय मानिन्छ। बाढी पहिरोले गाउँहरूको आपसी सम्पर्कमा बाधा पुग्दछ। प्रकृतिको रुप९रंग फेरिन्छ। खोलानाला सुसाएका हुन्छन् । हरियालीले पाखा पर्वत ढाकेको हुन्छ।

कामको चटारोले कसैलाई फुर्सद हुँदैन। “साउनकी काली रात” का डरलाग्दा किस्साहरू गाउँघरमा  सुन्न अहिले पनि पाइन्छन्। नि सन्देश यो परिवेशले कर्मयोगी लोक जीवनलाई भावबिहल बनाएको हुन्छ ।

शायद यसै पृष्ठभूमिमा यो पर्वको सुरुवात भएको  हुनु पर्दछ। आफन्तहरूलाई सम्मान स्वरूप उपहारसहित ढोग भेट गर्न जाँन चलेको चलन वा परम्परा बनाएको मानिन्छ ।

वैशाखदेखि साउनसम्मको समयलाई विपत्तिको समयका रूपमा मानिन्छ । जुन समयमा बाढी पहिरो, आँधीबेहरी आउने, अनेक किसिमका रोगव्याधी तथा महामारी फैलिने सम्भावना एकदमै उच्च रहेको हुन्छ ।

यस्तो संकटग्रस्त समयमा ‘मरिन्छ कि' भनेर वैशाख सङ्क्रान्ति विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ सङ्क्रान्ति ओल्के मनाउने प्रचलन परापूर्व समय देखि चलिआएको छ ।

त्यस्तो गार्‍हो समयमा बाँचेको खुसीयालीको शुभकामना आदान–प्रदान गर्ने कार्य नै ओल्के पर्व हो । सुदूरपश्चिममा यस दिन पिङ खेल्ने प्रचलन पनि रहेको छ।

यसकै अवसरमा श्रावण मसान्तको राति हातमा भंगिरी (एक प्रकारको फुल) को बोटमा मजेटीलगायत जडीबुटी एकै ठाउँमा पिसेर हातमा भुजाको पातले बेरेर लाउने प्रचलन छ। भंगिरी अर्थात् मेहन्दी लगाएको हातले मिठो खानाका परिकार खाएर भंगिरी चोख्याइन्छ ।

हातमा भंगिरी लगाए पछि छालाको रोग निको हुने भन्ने जनविश्वास रहेको छ । विवाहित छोरीलाई माइतीघरमा आमन्त्रण गरी मिठा परिकार जस्तै सेल, पुरी ,माडा , ठुलो रोटी , डुब्का लगायत डोटेली परिकार पकाएर खुवाउने प्रचलन रहेको छ ।

यस पर्वले अन्य पर्वलाई ‘ओल्क्याउने’ अर्थात् अन्य पर्वलाई निम्त्याउने भएकाले यो पर्व लाई जेठो पर्वका रूपमा मानिन्छ। यो पर्व विशेष गरी  डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम लगायतका पहाडी जिल्लामा निकै धूमधामका साथ मनाइन्छ।

स्थानीय उखान 

“मरुँला भनेर विशु खाने, बाँचे भनेर ओल्के खाने।”
अर्थात्, वर्षभरिका विपत्ति पार गरेर बाँचेको खुसी साट्ने अवसर हो ओल्के।

कहिले र किन मनाइन्छ ?

यो पर्व परापुर्व कालदेखि नै श्रावण मसान्त अर्थात् भदौ १ गते मनाइँदै आएको छ । वैशाखदेखि साउनसम्मलाई सुदूरपश्चिममा विपत्तिपूर्ण समय मानिन्छ—बाढी, पहिरो, आँधीबेहरी र रोगव्याधि फैलिने सम्भावना हुने समय । त्यस कठिन समयपछि बाँचेको खुसी बाँड्ने र नयाँ कृषि चक्रको सुरुवात गर्ने अवसरको रूपमा यो पर्व मनाइन्छ।

मनाउने तरिका

बिहानै उठेर नुहाई धुवाइ गरी घर आँगन लिपपोत गरिन्छ । धार्मिक स्थलमा पूजा–पाठ गरी, ओल्को बोकेर आफन्त वा मान्यजनको घरमा भेटघाट गरिन्छ।

मान्यजनलाई फलफूल, दही, घिउ, गुँड, अन्न आदि सगुनका रूपमा दिइन्छ। दिदी–बहिनीहरूले मेहेन्दी (भंगिरी) लगाउने, नयाँ लुगा–गहना लगाउने चलन छ। विवाहित छोरीलाई माइतीमा बोलाएर सेल, पुरी, माडा, ठुलो रोटी, डुब्का जस्ता डोटेली परिकार खुवाइन्छ।

गाउँभरका युवाले रूखका हाँगा, झ्याङ, बोटबिरुवा जम्मा गरेर “बुढी हालेको” बनाउँछन् र बेलुकी सामूहिक रूपमा आगो बाल्छन्। यसलाई “बुढी पोल्ने” भनिन्छ, जसले दुःख–कष्ट र रोगव्याधि जलाएर फाल्ने प्रतीक जनाउँछ।

यसै दिन पिङ खेल्ने र लोकगीत–नृत्य गर्ने रमाइलो चलन पनि छ।

सामाजिक र सांस्कृतिक महत्त्व

आफन्त र छिमेकीबीचको सम्बन्ध मजबुत पार्ने अवसर हो । पुस्तौँदेखि चलेको मौलिक परम्परा जोगाउने कार्य हो । कुनै धार्मिक बन्धनमा सीमित नभई सामूहिक खुशी, मेलमिलाप र एकताको प्रतीक हो । सुदूरपश्चिमेलीहरूको सांस्कृतिक पहिचान र गौरव झल्काउने पर्व हो ।

वर्तमान सन्दर्भ

पहिले गाउँ–गाउँमा अत्यन्त उत्साहका साथ मनाइने यो पर्व अहिले पनि पहाडी जिल्ला डोटी, डडेलधुरा, बझाङ, बाजुरा, अछामलगायतका जिल्लामा धूमधामसहित मनाइन्छ।

यद्यपि बसाइँसराइ, आधुनिक जीवनशैली र प्रवासनका कारण यसको स्वरूपमा केही परिवर्तन भने निकै आएको छ। तर, भावनात्मक मूल्य र सांस्कृतिक महत्त्व भने उस्तै रहँदै आएको छ।

ओल्के पर्व केवल मिठा–मसिना खाने वा उपहार दिने दिन मात्र होइन। यो जीवनप्रतिको आभार, आपसी सम्बन्ध बलियो बनाउने र सुदूरपश्चिमेली पहिचानलाई जोगाउने महत्वपूर्ण सांस्कृतिक सम्पदा हो ।

पुराना पुस्ताले सिकाएको यो मौलिक रीतलाई निरन्तरता दिनु हाम्रो सामूहिक जिम्मेवारी हो, ताकि भविष्यका पुस्ताले पनि “ओल्के” को मिठास अनुभव गर्न सकुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077