काठमाडौं । गृहमन्त्री रमेश लेखक सुरक्षा निकायको चिकित्सकको टोलीसहित वीरगञ्ज जाने भएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सकसहितको टोलीसहित गृहमन्त्री लेखक हैजा प्रभावित क्षेत्रका बिरामीको उपचार लगायत आवश्यक तयारीको विषयमा छलफल गर्न शनिबार वीरगञ्ज जान लागेका हुन्।
गृहमन्त्री लेखकले आइतबार विहान नारायणी अस्पतालमा उपचारत बिरामी तथा अस्पताल प्रशासन र पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति लगायतसँगपनि भेटघाटको कार्यक्रम राखेको गृहमन्त्रालयको सचिवालयले जनाएको छ ।
गत भदौं ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियनत्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सकको टोली परिचालन गर्ने निर्णय गरेको थियो।
यस्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाप्रभावित क्षेत्रमा तीनै तहका सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालन गरिने बताएका थिए।
वीरगञ्जमा अहिलेसम्म हैजा र झाडापखाला लक्षण देखिएका ३ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या एक सय ५२ जना पुगेको छ।
झाडापखला लागेर अस्पताल भर्ना हुने बिरामीको संख्या ६ सय ७६ जना पुगेको छ।
यस्तै आरडिटी परीक्षणमा हैजा पुष्टि भएका एक सय ५२ जना मध्ये ७८ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन भने संक्रमितको जिल्लामा रहेका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।