धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व अब प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सम्हालेका छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा चन्दले पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारी थालनी गरेका हुन् ।
आइतबार बिहानै कैलाली आइपुगेका उनलाई जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहसहित अन्य प्रहरी अधिकारी तथा कर्मचारीले स्वागत गरेका थिए ।
स्वागतपछि कार्यालयमै उपस्थित भई चन्दले आधिकारिक रूपमा काम थालनी गरेका हुन् ।
हालै कैलाली कारागारमा देखिएको सुरक्षा कमजोरीका कारण प्रहरी प्रधान कार्यालयले तत्कालीन प्रहरी प्रमुख एसपी बाल नरसिंह राणालाई फिर्ता बोलाएर जिम्मेवारी चन्दलाई दिएको हो । यसअघि चन्द सिआइबीमा कार्यरत थिए ।