जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठामा उत्पन्न साम्प्रदायिक विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन् । प्रहरीको गोली उनको दुबै खुट्टामा लागेको छ । मुखियालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको जनाइएको छ ।
हिन्दू–मुस्लिम समुदायबीच “टावर लाईट” मा झण्डा राख्ने विषयलाई लिएर विगत दुई दिनदेखि विवाद चर्किँदै आएको थियो। आज बिहान प्रहरीको टोलीले मुस्लिम समुदायले राखेको झण्डा हटाउँदा हिन्दू समुदायले राखेको झण्डा समेत हटाएको थियो। त्यसपछि दुवै पक्षले आक्रोशित हुँदै आपसमा ढुङ्गामुढा गरेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरी बल प्रयोग गर्न बाध्य भएको र सो क्रममा गोली चलाएको प्रहरीले जनाएको छ। झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।
यतिबेला रुपैठ क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिमा सुरक्षा कडा पारिएको छ।