काठमाडौं । नेपाल प्रहरीको ३२औं आईजीपी चन्द्रकुबेर खापुङले बिहीबारदेखि कार्यभार सम्हाल्दैछन् ।
नयाँ आईजीपीको नेतृत्वसँगै प्रहरीमा एआइजीका चार पद रिक्त हुँदैछन् । रिक्त हुने पदमा बढुवाका लागि तिव्र चलखेल सुरु भइसकेको छ।
रिक्त चार पदमा ९ जना डिआइजीबीच प्रतिस्पर्धा छ। आईजीपीमा खापुङ एक्ला प्रतिस्पर्धी भएकाले ठूलो विवाद भएन । तर, एआइजी बढुवामा भने टक्कर छ। जसकारण प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेस र एमालेबीच भागबन्डाको सम्भावना छ ।
रिक्त पदमा बढुवाका लागि गुप्तचरबाट आएका चार र नेपाल प्रहरीतर्फका पाँच डिआइजीबीच प्रतिस्पर्धा छ । गुप्तचरबाट आएका सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।
उनीहरुमध्ये राठौर हाल प्रहरीको प्रबन्ध महाशाखाको प्रमुख छन्। जहाँ उनले डेढ अर्बको खरिदमा सेटिङ गरेको आरोप खेपिरहेका छन्।
दोस्रो नम्बरमा रहेका चतुर्वेदी हाल मधेस प्रदेशको प्रहरी प्रमुख छन् । मधेसमा पछिल्लो समय संस्थागत तस्करी मौलाएको छ । उनी कांग्रेस नेतृ आरजु देउवा निकट हुन्। देउवाकै जोडमा एआइजी हुने उनको दाउ छ ।
तेस्रो नम्बरमा रहेका श्रेष्ठ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । चौथो नम्बरका विक सुदुरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । उनीहरू पनि कांग्रेस नेताहरुमार्फत नै बढुवाका लागि लबिइङमा छन्।
नेपाल प्रहरीतर्फका दिनेश कुमार आचार्य, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, अरुण पौडेल र गोविन्द थपलिया बढुवाको प्रतिस्पर्धामा छन् ।
राजनीतिक नेतृत्वको चाकडी नगर्ने भएकाले आचार्य सधैं पछि पर्दै आएका छन् । उनी हाल गण्डकी प्रदेशको प्रहरी प्रमुख छन् ।
कार्की कोशी प्रदेशमा कार्यरत छन्। उनको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलगायतसँग राम्रो सम्बन्ध छ । जसकारण एमालेकै कोटाबाट उनी एआइजी हुने रणनीतिमा छन्।
भट्ट गृहमन्त्री रमेश लेखक निकट हुन्। हाल लुम्बिनी प्रदेशमा उनले पनि तस्करीको लाइन खुलाएको आरोप लागेको छ । पौडेल हाल बागमति प्रदेशको प्रमुख छन् ।
उनको पनि कार्यक्षमता कमजोर रहेको माथिल्लो निकायमा रिपोर्टिङ पुगेको छ । थपलिया भने बढुवाभन्दा मधेस वा लुम्बिनी प्रदेशमा जाने रणनीतिमा छन् ।
बढुवामा सहमति नभएमा आइजीपी खापुङले कात्तिक अन्तिममा अवकाश पाएपछि मात्र निर्णय हुने सम्भावना पनि छ। त्यतीबेला एआइजीका पाँच दरबन्दी खाली हुनेछन्।
एआइजीसँगै डिआइजी बढुवाका लागि पनि एसएसपीहरु दौडधुपमा लागिसकेका छन्। अब ११२ को टोलीबीच डिआइजी बढुवामा मुख्य प्रतिस्पर्धा छ।