काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ ।
मुद्दा दायरको करिब साढे २ वर्षपछि जिल्ला अदालत काठमाडौंले सुनुवाइको चरणमा लगेको हो ।
अदालतका अनुसार पछिल्लो समय मुद्दालाई साप्ताहिक रूपमा पेसी चढाएर साक्षी बुझ्ने र बकपत्र गराउने काम भएको थियो । अब मुद्दा सुनुवाइ गर्न आजदेखि पेसी तोकिएको छ ।
यो मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
कोही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे भने कोही जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा १० जेठ २०८० मा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यस प्रकरणमा अघिल्ला दुई वर्ष २०८०/ ८१ मा मुद्दाले प्राथमिकतै पाएन । वैशाखयता मात्रै शरणार्थी प्रकरणको मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढेको हो ।