काठमाडौं । सामाजिक सञ्जाल बन्दको सरकारी निर्णयले देशभरै तातेको बहसबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगातार चर्चामा छन् ।
पछिल्ला दिनमा उनले फेसबुकमा राखेका स्टाटस मात्र होइन, अन्य नेताहरूको पोस्टमा गरेको टिप्पणीसमेत व्यापक चर्चाको विषय बनेको छ ।
नेपालमा फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि सक्रिय बनेका मेयर साहले यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै व्यंग्य गरेका छन् ।
रास्वपा समर्थक कलाकार तथा कार्यक्रम प्रस्तोता आसिफ साहले सामाजिक सञ्जालमा बलिउड अभिनेता अमिताभ बच्चनको पोलियो अभियानसम्बन्धी पोस्टर राख्दै लेखेका थिए, “यो तस्बिरले केही भन्दैछ हाम्रा नेताहरूलाई...के पो भन्दै छ होला ?”
उक्त पोस्टमा मेयर साहले टिप्पणी गर्दै भने, “देख लिया दो बार सरकारमे जानेका नतिजा ?”
उनको यो टिप्पणी रास्वपाको सरकारमा दुईपटक सहभागितातर्फ लक्षित व्यंग्यका रूपमा लिइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच यो टिप्पणी अहिले भाइरल बनेको छ।