काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्र सोमबार दिउँसोदेखि रणभूमिमा परिणत भएको छ।
जेनजी पुस्ताले सुरु गरेको शान्तिपूर्ण प्रदर्शन प्रहरीको बल प्रयोगपछि हिंसात्मक बन्दा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।
तनाव नियन्त्रणका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि आक्रोशित प्रदर्शनकारी सडकमा उत्रिन छाडेका छैनन्।
बानेश्वर चोक र वरिपरिको क्षेत्र अहिले पनि टायर बालेर आगजनी र तोडफोडले अस्तव्यस्त बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली र अश्रुग्यास प्रहार गरिरहेको छ।
फेरि गोली चल्दा घाइते भएका दुई जनालाई एभरेस्ट अस्पतालमा लगिएको छ भने १ जना एम्बुलेन्समा पठाइँदै छ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु गरिएको जेनजी पुस्ताको आन्दोलन दिउँसोसम्म शान्तिपूर्ण थियो। तर, प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि भीड आक्रोशित बनेर संसद भवनलगायत सरकारी संरचनामा तोडफोड र आगजनीमा उत्रिएको थियो।
अहिले नयाँ बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीहरू भने तितरबितर भएर विभिन्न गल्लीबाट नारा जुलुस र प्रतिरोध प्रदर्शन जारी राखिरहेका छन्। राजधानीमा चर्किएको आन्दोलनले अझै कति समयसम्म नियन्त्रणमा आउँछ भन्नेबारे अनिश्चितता छ।