वीरगन्ज । पर्सामा गोली प्रहार गरेको आरोपमा सशस्त्र प्रहरी बलको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षीय प्रदीप शर्माले मादकपदार्थ सेवन गरी सोमबार दिउँसो वीरगन्ज महानगरपालिका–१६, भन्सारगेटनजिकै मुस्कान होटेलमा कार्यरत महिला कर्मचारीमाथि गोली प्रहार गरेका थिए ।
भारतको बेतिया घर भई वीरगन्जमा बसोबास गर्दै आएकी १८ वर्षीया निशाकुमारी सहनीमाथि उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटेलमा कार्यरत भारतीय महिलाको बायाँ गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
उनलाई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ ।