काठमाडौं । नेपाली सेनाले नेपालमा हाल भइरहेको ुजेनजीु आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको जनाएको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रहीआएको जनाएको छ ।
'यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ,' सेनाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल र नेपाली जनताको हित तथा सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।