काठमाडौं । हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट तथा आगजनी भइरहेका घटनालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि औपचारिक रूपमा परिचालन हुने भएको छ ।
सैनिक मुख्यालयले विज्ञप्ति जारी गर्दै देशभर शान्ति–सुरक्षा कायम गर्न सेना तथा अन्य सुरक्षा निकायहरू तैनाथ हुने जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “केही समूहहरूले परिस्थितिको दुरुपयोग गर्दै सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने, लुटपाट र आगजनी गर्ने गतिविधि रोक्न/नगराउन नेपाली सेनाले पुनः आग्रह गर्दछ।”
मुख्यालयले चेतावनी दिँदै भनेको छ, “यस किसिमका गतिविधिहरु नरोकिएमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गते राति १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछ।”
सेनाले सम्पूर्ण राष्ट्रवासीलाई शान्ति–सुरक्षामा सहयोग गर्न हार्दिक अपिल गर्दै सुरक्षा अवस्थाको पुनर्मूल्यांकनपछि आवश्यक थप सूचना जारी गरिने पनि जनाएको छ।