काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर देभर रहेका अधिकांश कारागारका कैदीबन्दीहरु भागे । हजारौंको संख्यामा कैदीहरु निस्किएपछि डिल्लीबजार कारागारमा रहेका केही कैदी बन्दीहरुले पनि आफूहरु निस्कन पाउनु पर्ने भन्दै कारागार भित्रै तोडफोड गरे ।
उनीहरुले मुख्य गेट नै भत्काएर बाहिरिन खोजेपछि नेपाली सेनाले कारागार नियन्त्रणमा लिएको छ ।
डिल्लीबजार कारागारमा केही भिआईपी कैदीहरु पनि छ । बैंकका सिइओदेखि मन्त्री भइसकेका नेताहरु पनि डिल्लीबजार कारागारमै छन् ।
डिल्लीबजारका केही कैदी हुलदंगा गर्दै बाहिर निस्के पनि ज्यान मार्ने उद्योगमा जेल जीवन विताइरहेका पूर्वमन्त्रीदीपक मनाङे आफू बाहिर आउन नचाहेको भन्दै भित्रै बसिरहे।
२०७९ को प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित मनाङेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले ज्यान मार्ने उद्योगसम्बन्धी फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद असार ४ देखि बदर भएको निर्णय गरेको थियो।
अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङेको योग्यतामा प्रश्न उठाउँदै प्रदेश सभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए। मनाङे विभिन्न फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएकाले चुनावमा उम्मेदवार बन्न नपाउने उनको तर्क थियो।
तर, त्यसबखत फैसला अन्तिम नभइसकेको र सर्वोच्चमा पुनरवलोकनको क्रममा रहेको कारण चुनाव लड्न अयोग्य नभइसकेको तर त्यसपछि सर्वोच्चबाट अन्तिम फैसला भएकाले अब उनी पदमा रहन नपाउने संवैधानिक इजलासको निष्कर्ष थियो ।
मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाटै दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।
गुण्डा नाइकेका रूपमा परिचित मनाङेले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको अभियोग थियो। आक्रमणमा मनाङेको समूहले चक्रेको हात नै छिनाएको थियो।
२०८१ कात्तिक २० गते सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई ५ वर्ष कैदमा राख्नुपर्ने उच्च अदालत पाटनको फैसला सदर गरिदिएको थियो।
यसअघि उनी उच्चकै फैसला कार्यन्वयनका लागि २०७५ वैशाख ६ गते पक्राउ परेका थिए। तर, ८ महिनामै कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित भएका मनाङे ६ पटक मन्त्रीसमेत बने।