काठमाडौं । जेनजी आन्दोलनको मौका छोपेर सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएपछि देशभर करिब ७ हजार कैदीहरू विभिन्न जेलबाट भागे ।
रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । जसका कारण जेनजीको आन्दोलनको मौका छोपेर सबै कैदीबन्दी भाग्न सफल भए ।
आज पनि डिल्लीबजार कारागारबाट केही कैदीबन्दीहरुले भित्र आफै आगो लगाएर भाग्ने कोशिष गरेका थिए । तर, नेपाली सेनाले कारागार नै नियन्त्रणमा लिएको छ ।
विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु प्रहरीलाई धम्क्याएर बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ । त्यतिमात्रै होइन कैदीहरु बाहिर आएसँगै पीडितहरु आतंकित बनेका छन् ।
कानूनी दायरामा आएका व्यक्तिहरु बाहिर आएपछि नेपालीहरुको महान पर्व दशैंको मुखमा समाजमा अर्को आतंकमा प्रवेश गरेको छ ।
राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूतिको कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानूनी दायरामा ल्याइहाल्ने अवस्था छैन ।
देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् । प्रहरीले बोकेका हतियार लुटिएका छन् भने भौतिक संरचना जलेको अवस्था छ ।
अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी प्रशासन विफल भएको अवस्थामा सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको जिम्मेवारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् ।
हुनत गएरातीदेखि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ । तर, नेपाल प्रहरीसँग जति डाटा नेपाली सेनासँग छैन । त्यसैले सेनालाई सुरक्षा दिन पनि सहज छैन । रोडमा उभिएकै भरमा जनताको कसरी सुरक्षा दिन सकिन्छ ?
जेलबाट भागेका अपराधीहरुले यही मौका पारेर थप अपराध गर्ने र इगो साँध्ने काम हुनसक्छ । त्यसतर्फ कसैको ध्यान गएको छैन ।
अर्कोतर्फ मंगलबार दिनभरको दृश्य हेर्ने हो साना र स्वचालित हतियारको बोकेका धेरै मानिसहरु सडकमा थिए । नेपाल प्रहरीसँग लुटिएका हतियारहरु उनीहरुको हात हातमा छन् ।
छुटेका कैदीहरुले देशभरका अदालतलाई निशाना बनाउँदा प्राय सबै अदालत जलेका छन् । अब उनीहरुको निशाना न्यायाधीश र उजुरीकर्ता माथि प्रस्ट छ ।
सुरक्षा अवस्था प्राय शून्य भएको बेला समाज यस्तै आतंकले थप ध्वस्त हुने निश्चित देखिएको छ ।
रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको भनेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्लासँगै सबै कैदीबन्दीहरु निस्केर हिँडेका थिए ।
रविले आफू गृह सचिवको निर्णयमा छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । सञ्जय टक्ला निस्केपछि मधेशभर सर्वसाधारण आतंकित भएका छन् ।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अहिले नख्खु कारागार नै पूरै खाली भएको छ ।
कैलाली कारागार पनि पूरै खाली छ । कास्की कारागारबाट पनि ९ सय भन्दा धेरै कैदीबन्दी भागेको सूचना अएको छ । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागार, म्याग्दी कारागारलगायतका सबैजसो कारागारबाट अपराधीहरु बाहिर आएका छन् ।
विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्किएपछि देशभर नै सुरक्षा थ्रेट बढेको छ ।