काठमाडौं । जेनजी समूह र नेपाली सेनाबीच आज वार्ता हुने भनिए पनि प्रक्रियागत अन्योल कायम भएको छ ।
बुधबार जंगी अड्डामा तय भएको छलफल जेनजी नेतृत्व चयनमा विवाद हुँदा स्थगित भएको थियो । एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा प्रस्ताव गर्दा अर्का समूहले धरानका मेयर हर्क साम्पाङलाई अघि सारेपछि सहमति जुट्न सकेको थिएन ।
नेपाली सेनाले त्यसपछि ‘ग्रुप लिडर’ एकजना चयन गरेर मात्र आउनु पर्ने अडान लिएको थियो । सेनाले माइकिङमार्फत पनि “दशजना नेतासहित फोन नम्बरसमेत टाँस गरेर आउन” आग्रह गरेको थियो।
यसैबीच, जेनजीका एक खेमाले सुशीला कार्कीको नाम अघि सारेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत कार्कीलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
कार्की स्वयंले पनि प्रस्तावप्रति सकारात्मक रहेको बताइन् तर प्रक्रियागत सवालमा अन्योल रहेको भन्दै प्रत्यक्ष सहभागिताबारे अझै निर्णय नभएको स्पष्ट पारिन् ।
त्यसैले आज नै नेपाली सेना र जेनजीबीच औपचारिक वार्ता हुने वा नहुने विषय स्पष्ट हुन सकेको छैन।