काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् ।
१२औँ विश्व योग दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका हुन् ।
योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने उल्लेख गरेका छन् ।
सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ ।
विश्वव्यापी रूपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश भएको बताउँदै राष्ट्रपतिले आधुनिक जीवनमा बढ्दो तनाव, प्रदूषण र प्रतिस्पर्धाबाट प्रभावित मानव जीवनलाई सहज, सरल र स्वस्थ बनाउन योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिएका छन् ।