चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबार (असार ७) देखि चितवनमा सुरु हुँदै छ ।
प्रवक्ता मनिष झाले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको अधिकांश व्यवस्थापनको काम पूरा भएको जानकारी दिए ।
भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ ।
महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
“रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, उनले भने, “राजनीतिक, आर्थिक, सांगठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुईजना रहनेछन् ।
विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताउनुभयो । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ ।