काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेसँग एकताको विषयमा आएका हल्लामा कुनै सत्यता नरहेको दाबी गर्दै कार्यकर्ता र बुद्धिजीवीहरूलाई भ्रममा नपर्न आग्रह गरे ।
‘एमालेसँग अहिले एकता सम्भव छ र ? सम्भवै छैन । त्यसैले यस्तो हल्लामा नलाग्नुहोस्,’ उनले भने ।
उनले सञ्चार माध्यम र सामाजिक सञ्जालमा आउने कतिपय सूचनाले बुद्धिजीवी वर्गसमेत प्रभावित हुने भएकाले वस्तुगत विश्लेषण आवश्यक रहेको बताए । आफूलाई पटक–पटक फोनमार्फत यसबारे स्पष्टिकरण दिनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।
नेता नेपालले आफ्नो पार्टीको वर्तमान कार्यदिशा देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई गोलबन्द गर्ने दिशामा केन्द्रित रहेको बताए ।