काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा बुधबार आयोजित १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याती र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे ।
उनले भने, ‘यो व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य, नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो ।’
खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशा र राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
उनले भने, ‘खेलकुदको यो विशिष्ट महत्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालय तहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम र गतिविधि बढाएर खेलप्रति आकर्षित र प्रोत्साहित गर्न सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्छ । खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय र सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।’
राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितामा मेरो भविष्य सुरक्षित छ भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘विद्यालय तहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई संघ, प्रदेश र स्थानीय स्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्नु हुँदैन ।’