काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सात दशक लामो प्रहरी संगठनले हरेक आपत्–विपदमा देखाएको निष्ठा र मनोबल नै यसको गौरवमय पहिचान भएको बताएका छन् ।
बिहीबार साँझ सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले यस्तो बताएका हुन् । उनले हालको जटिल र चुनौतीपूर्ण परिस्थितिलाई दायित्व र शालीनतापूर्वक सामना गर्नुपर्नेमा जोड दिए।
“नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र समर्पण राष्ट्र र आम नागरिकको सेवा र सुरक्षा नै हो,” आईजीपी खापुङले भने, “यो जिम्मेवारी झन् संवेदनशील र महत्त्वपूर्ण बन्दै गएको छ।”
देश कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले प्रहरीहरूलाई अझ उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आह्वान गरे। साथै, सोमबार र मंगलबार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत प्रकट गरे।
उनले नेपाल प्रहरी संगठनको सात दशकको यात्रालाई गौरवपूर्ण सम्झना गर्दै हरेक कठिनाइमा सेवा र सुरक्षाको पहिलो पंक्तिमा रहँदै आएको विश्वास दिलाए।