काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो सरकार सिंहदरबारबाटै चल्ने स्पष्ट पारेका हुन्।
उनले भने- 'अब जेनजी पुस्ताको मागहरूअनुसार सरकार बनोस्, नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ। हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरु गरिसकेका छौं। अत्यावश्यक-आवश्यक सेवाहरू खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि हामीले तद्तत् निकायहरूलाई निर्देशन दिइसकेका छौं। ‘सरकार आइसकेपछि सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ। त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं। अभिलेखको क्षति कल्पनासमेत गर्न सकिँदैन। पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आकलन गर्छौं।'
सिंहदरबार जलिसकेकाले नारायणहिटीमा प्रधानमन्त्रीको कार्यालय राख्ने हल्ला चलिरहेका बेला त्यो सत्य नभएको उनको दाबी छ।
अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए ।