काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नयाँ सरकार गठनको विषयमा छलफल गर्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका छन्।
अन्तरिम सरकार गठनको विषयमा उनीहरूबीच छलफल हुने बताइएको छ।
अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको थियो ।
अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार जेनजीको माग सम्बोधन हुने गरी संविधानकै दायरामा रहेर समस्या समाधान गर्ने वक्तव्य जारी गरेका थिए।
बिहीबार नै पौडेलले प्रधानसेनापतिसहित संविधान तथा कानुनका विज्ञसँग पनि छलफल गरेका थिए। यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो ।
बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक कानुनविद्, जेनजी प्रतिनिधि तथा प्रमुख दलका नेताहरू सहभागी थिए ।
तर छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने भन्ने विषयमा प्रष्ट सहमति जुट्न सकेको छैन। त्यस्तै, संसद् विघटनबारे पनि मतभेद देखिएको छ ।
जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन्।