काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन र संविधानबाट नै खोज्नुपर्ने बताएका छन् ।
सभामुख र राष्ट्रिय सभा अध्यक्षले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका हुन् ।
सभामुख र अध्यक्षले संयुक्त वक्तव्यमा जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ ।'
आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन विज्ञप्तिमार्फत घिमिरे र दाहालले अपिल गरेका छन् ।