काठमाडौं । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल गठनका लागि छलफल थालेकी छिन्।
शनिबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिहरु छान्न छलफल चलिरहेको छ।
देशको अवस्थाका आधारमा तत्कालै गृहमन्त्री नियुक्ति गर्नुपर्ने छ। धेरै आकांक्षीहरु उनलाई भेट्न पुगेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीका पूर्वआइजिपीदेखि, पूर्वसैनिक अधिकारी, पूर्वसचिव, कानून व्यवसायीहरु यो दौडमा देखिएका छन्।
सुरक्षाको अवस्था चुनौतीपूर्ण भएकाले पूर्वप्रहरीबाटै नियुक्ति हुने सम्भावना रहेको स्रोत बताउँछ । प्रहरीबाहिरको मान्छेले अहिलेको सुरक्षा चुनौती हल गर्न कठिन हुने भएकाले पनि पूर्वप्रहरीमध्येबाट चयन हुने सम्भावना छ ।
छरितो मन्त्रिपरिषद् गठन गरेर चुनाव गराउने कार्कीको तयारी छ। रक्षामन्त्रीमा भने पूर्वरथी बालानन्द शर्माको सम्भावना देखिएको छ ।
त्यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनालको नाम आएको छ। जेनजीका प्रतिनिधि समेत समेटेर आइतबार सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।
त्यस्तै मन्त्रीहरुमा कुलमान घिसिङ,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’का कानूनी सल्लाहकार ओमप्रकाश अर्याल, डा. सन्दुक रुइतलगायत चर्चामा छन् ।