काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेर चर्चामा आएका सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीप्रति जेनजी आन्दोलनले देखाएको अत्यधिक विश्वासलाई ठूलो भूल भएको टिप्पणी गरेका छन् ।
ढकालले बिहीबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, 'प्रधानमन्त्री ज्यु, जेनजीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठूलो बलिदानी गरेका थिएनन्। आन्दोलनकारीको माग नै पूरा नगरी कसरी अघि बढ्न सकिन्छरु विश्वकै ऐतिहासिक क्रान्तिको बलिदान केवल मध्यावधिका लागि मात्र हो र ?'
उनले प्रधानमन्त्री कार्कीलाई प्रधानमन्त्री बनाउने शक्ति राष्ट्रपति नभई आन्दोलन भएको स्पष्ट गर्दै, 'जेनजीले हजुरलाई आवश्यकभन्दा बढी विश्वास गरेर सम्झौता नगरी फर्किनु ठूलो गल्ती भयो,' भनेका छन्।
ढकालका अनुसार उनले व्यक्तिगत रूपमा पनि जेनजी नेताहरूसँग निरन्तर सम्पर्क गरेर सम्झौता नगरी फर्किन नहुने आग्रह गरेका थिए। तर, कांग्रेससम्बद्ध राष्ट्रपति र जेनजी दुवै अल्झिएको उनको आरोप छ।
ढकालले अझै पनि समाधान सम्भव रहेको विश्वास व्यक्त गर्दै भनेका छन्, 'अझै केही बिग्रिएको छैन, हामी आशावादी छौं। सुनलाई पित्तलको भाउमा बेच्नुहुने छैन भन्ने विश्वास छ।'