एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा प्रहरी सुपरिटेन्डेन्ट (एसपी) आदिल अकबरको रहस्यमय ढंगले मृत्यु भएको छ ।
शुक्रबार साँझ उनको निजी कारभित्र गोली लागेर मृत्यु भएको इस्लामाबाद प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका प्रवक्ताका अनुसार एसपी अकबर कन्स्टिट्युसन एभिन्यू हुँदै आफ्नो कार्यालयतर्फ जाँदै गर्दा कारभित्रै गोली लागेर निधन भएका हुन् । “घटनाबारे विस्तृत अनुसन्धान जारी छ,” प्रवक्ताले भने ।
इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) अली नासिर रिजवीका अनुसार घटना साँझ करिब ४ः३० बजे कन्स्टिट्युसन एभिन्यूमा भएको हो । प्रारम्भिक अनुसन्धानमा कार बाहिरबाट कुनै गोली चलेको प्रमाण फेला परेको छैन ।
उनका अनुसार मृतक एसपीको मोबाइल फोन हाल लक गरिएको अवस्थामा फेला परेको छ र त्यसको फोरेन्सिक परीक्षण गरिने तयारी भइरहेको छ। अनुसन्धान टोलीले घटनास्थलमा विस्तृत प्रमाण संकलन सुरु गरेको छ।