काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई देशमाथि खतरा बन्ने व्यक्ति भएको आरोप लगाउँदै उनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।
रिजालले शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेनले पछिल्ला दिनमा गरेका अभिव्यक्तिहरू र व्यवहार देशको कानून र शान्ति–सुरक्षामाथि चुनौतीपूर्ण बन्दै गएको दाबी गरेका हुन् ।
‘बालेन शाहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ। नत्र अराजकता र मुठभेड बढ्छ।’
रिजालले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रत्यक्ष सम्बोधन गर्दै राज्यले यस्ता अभिव्यक्तिलाई सामान्य नठान्न आग्रह गरेका छन् । उनका अनुसार, बालेनले संवेदनशील सरकारी संरचनामाथि प्रहार गर्ने अभिव्यक्ति दिँदै आएको र त्यसको परिणाम देशभर अस्थिरता र विभाजनको वातावरण सिर्जना हुन सक्ने खतरा देखिएको छ।
शनिबार राति मेयर शाहले छिमेकी मुलुकहरू चीन, भारत, अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत समेटेर सामाजिक सञ्जालमा गरेको विवादास्पद पोस्टका कारण व्यापक आलोचना खेपिरहेका छन्।