काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको ‘मोन्था आँधी’ का कारण गत केही दिनदेखि प्रभावित मुलुकको मौसममा क्रमशः सुधार हुँदै गएको छ ।
तर, अझै पनि देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज ९आइतबार० देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। तर, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
हाल देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव अझै सक्रिय रहेकाले केही क्षेत्रमा आंशिक बदली देखिएको विभागले जनाएको छ।
दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली, मधेस प्रदेशसहितका अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। बाँकी प्रदेशहरूमा भने रातभर मौसम सामान्य र खुला रहने सम्भावना रहेको छ।