Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामारोशन पर्यटन क्षेत्रको यात्रा संस्मरण !

रामारोशन पर्यटन क्षेत्रको यात्रा संस्मरण !

बिहिवार , कार्तिक २०, २०८२

लामो समयको प्रतीक्षापछि यसपटक अछाममा अवस्थित पर्यटकीय क्षेत्र रामारोशन भ्रमण गर्ने सपना पूरा भयो । यात्रा सहज थिएन, तर उत्साह र जिज्ञासाले हाम्रो प्रत्येक कदमलाई अगाडि बढाइरहेको थियो ।

हामी चारजना साथीहरु (पूर्णबहादुर साउँद, नबिन साउँद, सुमित बिक र भीम बिक) एक रात रामारोशनमै बस्ने योजना बनाएर घरबाट कार्तिक ९ गते दिउँसो निस्किएका थियौँ । तर बीच बाटोमै मोटरसाइकलले धोका दियो, फलस्वरूप त्यो दिन रामारोशन पुग्ने लक्ष्य अधुरो रह्यो ।

चौरपाटी गाउँपालिकाबाट रामारोशन पुग्न धेरै टाढाको दुरी छैन । त्यसैले हामी कार्तिक ९ गते दिउँसो साढे २ बजे घरबाट निस्कियौँ । तर साँफेबगर नपुग्दै बीच बाटोमै नबिन र सुमित चढेको मोटरसाइकल पेन्चर भइसकेको थियो । पेन्चर बनाउनको हामीलाई आपत पर्‍यो ।

ग्यारेजहरुमा सर्वप्रथम ट्युब नै भेटाउन मुस्किल भयो । त्यसपछि ट्युब त मिल्यो तर ट्युब बाइकमा लगाइदिने मिस्त्री भेटाएनौँ । त्यही भएर साँफेमा दुःख पायौँ । हामीलाई बाइक बनाउन साँझको ६ बजिसकेको थियो । रात झमक्क साँफेमा परिसकेको थियो ।

[caption id="attachment_375715" align="alignnone" width="800"] किनिमिनी मैदान[/caption]

त्यसपछि साढे ६ बजे हामी साँफेबाट जयगढ बस्ने गरी हिँड्यौँ । तर जयगढ पुगेपछि बगरमा बास बस्ने निर्णयमा पुयौँ । फेरि त्यहाँबाट रामारोशन गाउँपालिकाको केन्द्र मुजाबरतर्फ हिँड्यौँ । जयगढबाट आधासम्म रोड पानी पिच रहेछ ।

त्यति अफ्ट्यारो भएन । तर आधाबाट कटाइसकेपछि कैलाश खोला पुग्दासम्म हाम्रो यात्रा जोखिम पूर्ण रह्यो । सडक कच्ची अनि रातिको समय हुँदा बाटो पनि बेलाबेला बिर्सन पुगेका थियौँ ।

कैलाश खोला पुगेपछि खोलाको छेउ हुँदै मुजाबगर गयौँ । त्यहाँ हामी रातिको साढे ८ बजे पुग्न सफल भयौँ । त्यो रात हामी मुजाबगरमै बस्यौँ ।

भोलिपल्ट बिहान ७ बजे, चियाको घामसँगै हामी रामारोशनतर्फ हिँड्यौँ । करिब डेढ घण्टाको असहज यात्रा पछि हामी रामारोशन पुग्न सफल भयौँ । मुजाबगरदेखि रामारोशनसम्मको बाटो साँघुरो र बिग्रिएको भए पनि वरिपरिका दृश्यहरूले थकान भुलाइदियो ।

[caption id="attachment_375716" align="alignnone" width="800"] जिंगले ताल[/caption]

बिहानको नास्ता रामारोशनमै खाएपछि हामी भ्रमणमा निस्क्यौँ । सुर्खेतबाट आएका दुई साथीहरू पनि हामीसँग मिसिए — सरल स्वभाव र रमाइला उनीहरू, जसले यात्राको मजा झन् बढाइदिए ।

कैलाश खोलाको मुहान रहको रामारोशनमा प्रशस्तै गुफा र झरना छन् । साथै अनेकन जंगली जनावर र पंक्षीको बास्थानसमेत रहेको यहाँ थुप्रै मैदानहरू छन्, ती मध्ये मुख्य किनिमिनी, रामे र रोशन हुन् ।

‘बाह्र बण्ड अठार खण्ड’ अर्थात् एकै ठाउँमा १२ ताल र १८ मैदानको नामले रामारोशन परिचित छ । तर हामीले बादुल्ला ताल, जिंगले ताल, किनिमिनी र रोशन मात्रै घुम्यौँ । अन्य रमणीय स्थानहरू अवलोकन गर्न हामीलाई समय पुगेन ।

त्यहाँ १२ बण्ड (ताल) जिंगले, बादुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे, गेराह रहेका छन् ।

[caption id="attachment_375718" align="alignnone" width="800"] बादुल्ला ताल[/caption]

यस्तै १८ खण्ड (मैदान) किनिमिनी, बागफल गोरेकोट, रोशन टाउका, ददाडी पिनालेखी, रोशन जिगाले, सालिमकोट कागे बर्जु, रोशन बागफाल, चिर्किट खालापोखडर, रामे रोशन, नेटाकोट साकोट, दल्यान रामे, रामे रगाडे, पातल दल्यान, किनिमिनी सुन्दरे, गेराह जैदेखोला, पिनालेखी टोडके, जिउने पातल, चिल्फु गाग्रा.प्रमुख छहराबाङ्गे, दल्याना, किनिमिनी फिस्साने, औलाघाट कैलाशखोला, रामारोशन गगन, वडाचामल, जैदेखोला दुदुल्लेबोट रहेका छन् ।

जसमा हाम्रो पहिलो गन्तव्य बादुल्ला ताल रह्यो । हरियालीले घेरेको त्यो तालमा फोटो र भिडियो खिच्दै हामीले क्षणलाई स्मरणीय बनायौँ । त्यसपछि रामारोशनको प्रमुख आकर्षण जिङ्गले ताल पुग्यौँ । डुङ्गा चढी तालको चारैतिरको सौन्दर्य नियाल्दा मन रोमाञ्चित भयो ।

शान्त पानीमाथि डुङ्गा बग्दै गर्दा पहाडको छायाँ, चराचुरुङ्गीको स्वर र चिसो हावाको स्पर्श हामी लिइरहेका थियौँ । त्यो क्षण जीवनकै सुन्दर अनुभूति जस्तो लाग्यो । जिंगले तालपछि हामी रोशन मैदान पुग्यौँ । पहाडबीचको त्यो विशाल हरियाली मैदान देख्दा मन हर्षित भयो ।

[caption id="attachment_375714" align="alignnone" width="800"] डुंगामार्फत जिंगले तालको अवलोकन गर्दै हामी[/caption]

त्यहाँका केही युवाहरू घोडा र क्यामेरा व्यवसायमार्फत स्वरोजगार बनेका रहेछन् । दशैं–तिहारको बीचमा ती युवाहरू दैनिक हजारौँ कमाइ गर्छन् । अहिले उनीहरूलाई पर्यटक घट्ने चिन्ता पनि छ किनभने पर्यटक नै उनीहरूको आम्दानीको स्रोत हो । चिसो बढेपछि त्यहाँ त्यति पर्यटक जाँदैनन् ।

उनीहरूसँग हामीले कुरा गर्दा दिनमा राम्रै कमाइ भइरहेको प्रतिक्रिया दिए । रोशन मैदानमा फोटो र भिडियो खिचेपछि हामीले तल्लो भागमा रहेको किनिमिनी मैदान जाने तयारी गर्‍यौँ । त्यसपछि करिब एक घण्टाको पैदल यात्रापछि हामी किनिमिनी मैदान पुग्यौँ ।

त्यो मैदान रोशन मैदानभन्दा अझ ठूलो र खुला थियो । त्यहाँ भेडा चरिरहेका थिए र स्थानीय बालबालिकाहरू मोजाको बल बनाएर क्रिकेट खेल्दै थिए । त्यो दृश्यले गाउँ जीवनको सरलता र आनन्द झल्काइरहेको थियो ।

दिउँसो साढे २ बजेतिर किनिमिनी मैदान पुगेर एकछिन विश्राम गरेपछि हामी सिता गेस्टहाउसतर्फ लाग्यौँ । भोक र थकाइले यात्रा कठिन बनेको थियो, तर जब ५ बजेतिर स्वादिष्ट खाना पाइयो, शरीर र आत्मा दुवैलाई राहत मिल्यो ।

[caption id="attachment_375720" align="alignnone" width="800"] रोशन मैदान[/caption]

साँझ पर्नासाथ हामी घर फर्किने तयारीमा लाग्यौँ । मुजाबगर पुग्न नपाउँदै अँध्यारो भइसकेको थियो, त्यसैले पुनः त्यहीँ रात बिताउने निर्णय गर्‍यौँ । सुर्खेतका साथीहरू पनि हामीसँगै रहे ।

कार्तिक ११ गते बिहान साढे ७ बजे हामी घर फर्कियौँ । यो यात्रा केवल भ्रमण होइन, प्रकृति, संघर्ष र सन्तोषको सुन्दर संयोजन बन्यो । लामो समयदेखि बिचारमा रहेको रामारोशन जाने सपना अन्ततः पूरा भयो ।

रामारोशन पुग्ने सडक निर्माणधिन अवस्थामा रहेको भएपनि ठेकदारको लापरबाहीका कारण अस्तव्यस्त छ । जसकारण रामारोशन पुग्ने बाटो अझै पनि कठिन छ । यदि सरकारले सडक स्तरोन्नति र कालोपत्रेमा ध्यान दियो भने यहाँको पर्यटन अझै फस्टाउनेछ ।

त्यसले स्थानीय युवालाई रोजगारी, होटल व्यवसायीलाई आम्दानी र गाउँलाई आर्थिक समृद्धिको बाटोमा पुर्‍याउनेछ । सरकारले यो क्षेत्रको विकास र प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।

[caption id="attachment_375727" align="alignnone" width="1000"] सुमित र नबिन डुंगामा मख्ख ![/caption]

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077