Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनकोशी मरिण डाइभर्सन आयोजना संकटमा : ठेक्का तोड्ने प्रक्रिया सुरु

सुनकोशी मरिण डाइभर्सन आयोजना संकटमा : ठेक्का तोड्ने प्रक्रिया सुरु

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । राष्ट्रिय गौरवको रूपमा अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना ठप्प हुने जोखिममा पुगेको छ।

निर्माण कार्यमा अत्यधिक ढिलाइ र प्रगति न्यून देखिएपछि आयोजना कार्यालयले ठेकेदार कम्पनी पटेल–रमण जेभी (जनकपुर–९, धनुषा) सँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको हो।

आयोजनाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै “ठेक्का सम्झौता किन नतोड्ने” भन्ने स्पष्टिकरण माग गरेको छ। आयोजनाका अनुसार सम्झौताको करिब ६१ प्रतिशत समय सकिँदा भौतिक प्रगति मात्र १० प्रतिशत पुगेको छ। पटक–पटक सूचना जारी गरेर सुधारको अवसर दिँदासमेत ठेकेदारले कुनै तदारुकता नदेखाएपछि ठेक्का तोड्ने तयारी गरिएको जनाइएको छ।

हालसम्म आयोजनाले २ अर्ब १४ करोड रुपैयाँ (झन्डै १५ प्रतिशत) भुक्तानी गरिसकेको छ। आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ मार्ग टनेल बोरिङ मेसिन मार्फत खनिएको थियो। यो सुरुङ २०८१ वैशाख २६ गते सफलतापूर्वक छिचोलिएको थियो।

सिन्धुली र रामेछापको सीमामा रहेको सुनकोशी नदीमा बाँध निर्माण गरी उक्त नदीको पानी मरिण नदीमा पथान्तरण गरिनेछ । यसबाट बागमती सिँचाइ आयोजनामा पानी पुर्‍याई धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

यस आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन पनि गरिनेछ । यसले मधेस प्रदेशका उर्वर भूमिहरूमा कृषि उत्पादकत्व वृद्धि, किसानको जीविकोपार्जनमा सुधार र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कुल ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमानित यस आयोजना सिँचाइ, ऊर्जा र क्षेत्रीय सन्तुलनका दृष्टिले देशकै रूपान्तरणकारी परियोजनामध्ये एक मानिएको छ। तर निर्माणमा देखिएको ढिलाइ र ठेक्का विवादले आयोजनाको भविष्य अस्थिर बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077