Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२ वटा स्टोर ध्वस्त भएका भाटभटेनीका मालिक गुरुङ भन्छन्–मलाई ‘स्वीट पेन’ भएको छ, म डुबे बैंक डुब्छ, रोजगारी गुम्छ

१२ वटा स्टोर ध्वस्त भएका भाटभटेनीका मालिक गुरुङ भन्छन्–मलाई ‘स्वीट पेन’ भएको छ, म डुबे बैंक डुब्छ, रोजगारी गुम्छ

सोमवार , मंसिर १, २०८२

काठमाडौं । विगत चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यावसायिक जीवनमा अनेक उतारचढाव आएको बताएका छन्।

कर दिवसका दिन आज सरकारले गरेको सम्मान कार्यक्रममा व्यवसायी गुरूङले ठूलो क्षति भएको भाटभटेनी सुपर स्टोर आगलागीको घटनालाई ‘स्वीट पेन’ को रूपमा लिएको बताए।

सञ्चालक गुरूङले आफूमाथि लागेका अनेक आरोप र क्षतिलाई सहर्ष स्वीकार गरेको उल्लेख गरे। उनले भने–‘मलाई कहिले कीर्ते भन्छ। कहिले जेल हालिन्छ। कहिले जलाइन्छ। मलाई स्वीट पेन भएको हो ।’

उनले आफ्नो संस्थाले कर तिरेर बचेको नाफा दान दिन चाहेको र स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सहयोग गरेको जानकारी दिए। भगवान कोइराला अस्पताल र टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा भाटभटेनीले सहयोग गरेको उनले बताए।

गुरूङले मूल्य अभिवृद्धि कर (भ्याट) सुरू हुने बेलामा आफू सबैभन्दा बढी खुसी भएको स्मरण गरे। तर, पछि अरूले गरेको गल्तीमा आफूले सजाय पाएको दावी गरे ।

उनले भने–‘त्यतिबेलाको कारोबार आम्दानीले मैले हर्जना तिर्न सक्ने अवस्था थिएन। अब म झन् मेहनत गरेर काम गर्नु पर्छ भन्ने भयो ।’

उनले त्यसपछि थप मेहनत गरेको र अहिले त्यसको फलस्वरूप ठूलो सफलता मिलेको बताए। त्यतिबेला २ अर्बको कारोबार हुने भाटभटेनी अहिले ३३ अर्बको कारोबार गर्न सक्षम भएको उनले बताए।

श्रेष्ठले गत भदौ २३ र २४ मा भएको आगलागीबाट ठूलो क्षति भएको बताए। उनले भने–‘विगतमा वर्षौं आन्दोलन हुन्थ्यो, अहिले एकै दिनमा ठूलो क्षति भयो। सबै बीमाले कभर गरेन ।’

यति ठूलो क्षतिपछि पनि आफू उठ्नुपर्छ भनेर लागेको र थप मेहनत गरेको बताउँदै उनले भने–‘म डुब्दा बैंक डुब्छ, रोजगारी जान्छ भनेर पनि हो ।’

भाटभटेनीले कुनै पार्टीलाई बिल्डिङ बनाइदिने भयो भनेर जलाइएको भनिए पनि उनले पार्टीलाई भवन बनाउने विषय आफ्नो व्यक्तिगत चासो भएको बताएका थिए।

देशकै ठूलो खुद्रा बिक्री श्रृंखला भाटभटेनी सुपर स्टोरका देशभरका शाखामध्ये १२ स्टोरसहित भवन नष्ट भएको छ भने अन्यमा तोडफोड र लुटपाट भएका छन् । भाटभटेनीका देशभर २८ वटा शाखा रहेका छन् ।

टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार गोदाम, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका शाखा भवनसहित १२ वटा स्टोर पूर्ण रूपमा ध्वस्त भएका छन्।

तोडफोड र लुटपाट भएका शाखामा कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरीका स्टोरमा भवनमा क्षति पुर्‍याइएकै साथै सामान लुटपाट भएको छ।

सुरक्षित रहेका शाखामा टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर (यूडब्ल्यूटीसी), पाटन र नेपालगञ्ज शाखा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077