काठमाडौं । व्यक्तिगत आयकरतर्फ यसपटक पनि राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
आन्तरिक राजस्व विभागले व्यक्तिगत आयकर सबैभन्दा धेरै तिरेका शाहलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
२०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । यस पटकको १४औँ राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार निकायतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्नेमा डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि रहेको छ ।
यस्तै कृषि एवं पशुपक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि, पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन् । वस्तु व्यापारको कारोबार गर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेण्टल स्टोर प्रालि, वार्षिक कारोबार रकम ५० करोडभन्दा बढी १ सय करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामा ब्रि.डि.एस.एन्ड क्लियरिङ लि. रहेको छ ।
यसैगरी डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गर्दा रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमा आईएमई लिमिटेड रहेको छ। नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूअ.कर दाखिला दूरसञ्चार नेपाल लिमिटेडले गरेको छ । आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा भि।एफ। सर्भिसेज (मौरिसस) सम्मानित भएको छ । विशेष उद्योगहरूमध्ये आ.व. २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ ।
कर दिवसमा राजस्व विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन ।


