गणेश भण्डारी
परिचय
विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै डाटा मानव जीवनको हरेक पक्षसँग गाँसिएको छ। स्मार्टफोनको प्रयोगदेखि अन्तरिक्ष अनुसन्धानसम्म, स्वास्थ्य परीक्षण देखि सामाजिक सञ्जालसम्म सबै ठाउँमा डाटाको प्रयोग भइरहेको छ।
तर डाटाले सुविधा र प्रगति मात्र ल्याएको छैन, यससँगै गम्भीर समस्या, जोखिम र चुनौतीहरू पनि त्यत्तिकै छन्। त्यसैले डाटालाई केवल प्रविधिको विषय नभई सामाजिक, नैतिक र विश्व ब्यबहार अनि सरोकारको विषयका रूपमा हेर्न आवश्यक छ।
डाटाको ऐतिहासिक विकास र विश्वव्यापी परिवर्तन
प्रारम्भिक मानव सभ्यतामा डाटा सीमित र स्थानीय थियो। तर कम्प्युटर र इन्टरनेटको विकासपछि डाटा विश्वव्यापी रूपमा प्रवाहित हुन थाल्यो।
सन् १९९० पछि इन्टरनेट विस्तारसँगै डिजिटल डाटाको विस्फोट भएको मानिन्छ। पछिल्ला वर्षहरूमा बिग डाटा, क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बुद्धिमत्ताले डाटालाई केवल सङ्कलनको वस्तुबाट निर्णय गर्ने शक्तिमा रूपान्तरण गरेका छन्।
आज विकसित राष्ट्रहरू डाटामै आधारित अर्थतन्त्र (Data-driven Economy) निर्माण गर्दैछन्।
डाटाको महत्व : शक्ति र निर्भरता
डाटा आधुनिक विश्वको अदृश्य शक्ति हो। विश्वका ठूला प्रविधि कम्पनीहरू जस्तै सामाजिक सञ्जाल, खोज इन्जिन र ई–कमर्स प्लेटफर्म जस्ता ठूला-ठूला कम्पनि डाटामै आधारित छन्।
डाटाले उपभोक्ताको व्यवहार बुझ्न, बजार पूर्वानुमान गर्न र नीतिगत निर्णय लिन सहयोग गर्दछ। तर यही निर्भरताले मानव समाजलाई प्रविधिमा अत्यधिक आश्रित बनाएको छ, जसले सानो गल्ती वा दुरुपयोगले ठूलो संकट निम्त्याउन सक्छ।
वर्तमान विश्व घटनामा डाटाको भूमिका
हालैका विश्वव्यापी घटनाहरूमा डाटाको भूमिका अत्यन्त स्पष्ट देखिन्छ। कोभिड–१९ महामारीका समयमा संक्रमण दर, मृत्युदर र खोप वितरण सम्बन्धी डाटाले विश्वका सरकारहरूलाई निर्णय लिन सहयोग गर्यो।
त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक अनुसन्धानमा उपग्रह डाटा र ऐतिहासिक तथ्याङ्क प्रयोग गरिन्छ। युद्ध र राजनीतिक संकटमा साइबर डाटा र सूचना युद्ध (Information Warfare) नयाँ चुनौतीका रूपमा देखा परेका छन्।
वर्तमान प्रविधी क्षेत्रमा देखिएका समस्या र उदाहरणहरू
आज डाटा दुरुपयोग र गोपनीयता उल्लङ्घन विश्वव्यापी समस्या बनेको छ। विभिन्न सामाजिक सञ्जाल प्लेटफर्मबाट प्रयोगकर्ताको निजी डाटा चुहावट भएका घटनाहरूले मानिसहरूको विश्वास कमजोर बनाएको छ।
कृत्रिम बुद्धिमत्तामा प्रयोग हुने डाटामा पक्षपात (Bias) हुँदा विभेदपूर्ण नतिजा आउन सक्छ। उदाहरणका लागि, केही देशमा अनुहार चिन्ने प्रविधिले विशेष जाति वा समुदायलाई गलत रूपमा पहिचान गर्ने समस्या देखिएको छ। साथै, फेक न्यूज र गलत डाटाका कारण सामाजिक अशान्ति र राजनीतिक ध्रुवीकरण बढेको छ।
डाटा व्यवस्थापनको अवस्था र विकासोन्मुख देशको चुनौती
विकसित देशहरूले डाटा संरक्षणका लागि कडा कानुन र प्रविधि विकास गरिरहेका छन्, तर विकासोन्मुख देशहरूमा अझै स्पष्ट नीति र संरचना अभाव छ।
नेपालजस्ता देशमा सरकारी डाटा डिजिटल रूपमा सुरक्षित राख्ने प्रणाली कमजोर छन्। दक्ष जनशक्ति, आधुनिक प्रविधि र पर्याप्त बजेटको अभावले डाटा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। यसले साइबर अपराध र डाटा दुरुपयोगको जोखिम बढाएको छ।
डाटा सम्बन्धी समस्याका समाधानका उपायहरू
डाटा समस्याको समाधानका लागि बहुआयामिक प्रयास आवश्यक छ। पहिलो, कडा डाटा संरक्षण कानुन र स्पष्ट नीति निर्माण गर्नुपर्छ। दोस्रो, साइबर सुरक्षा प्रविधि र पूर्वाधारमा लगानी बढाउनुपर्छ। तेस्रो, डाटा साक्षरता अभिवृद्धि गरी आम नागरिकलाई आफ्नो डाटाको मूल्य र सुरक्षा बारे सचेतना कार्यक्रम गराउनुपर्छ।
चौथो, कृत्रिम बुद्धिमत्ता र प्रविधिमा नैतिकता (AI Ethics) लागू गरी निष्पक्ष र पारदर्शी प्रणाली विकास गर्नुपर्छ। साथै, अन्तर्राष्ट्रिय सहकार्यमार्फत साइबर अपराध नियन्त्रण गर्न आवश्यक छ।
निष्कर्ष
डाटा विज्ञान तथा प्रविधिको प्रगतिको आधार मात्र होइन, यो शक्ति, जोखिम र जिम्मेवारीको संगम पनि हो। विश्व घटनाहरू र वर्तमान प्रविधीका समस्याहरूले देखाएका छन् कि डाटाको दुरुपयोगले गम्भीर सामाजिक र राजनीतिक संकट निम्त्याउन सक्छ।
त्यसैले डाटाको सुरक्षित, नैतिक र विवेकपूर्ण प्रयोग नै आधुनिक सभ्यताको दिगो विकासको आधार हो। सही नीतिहरू, प्रविधी र जनचेतनाको संयोजनले मात्र डाटाको शक्ति मानव कल्याणतर्फ निर्देशित गर्न सकिन्छ।
(लेखक भण्डारी आर आर क्याम्पस काठमडौंका सूचना तथा प्रबिधिका विद्यार्थी हुन् ।)