Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लौकही गोलीकाण्डपछि सशस्त्रमा भूइँचालो, एसपीसहित एकैपटक ३६ जना तानिए

लौकही गोलीकाण्डपछि सशस्त्रमा भूइँचालो, एसपीसहित एकैपटक ३६ जना तानिए

बुधवार , पौष २३, २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएपछि सशस्त्र प्रहरी संगठनभित्र व्यापक हेरफेर गरिएको छ ।

घटनाको गम्भीरता बढ्दै गएपछि सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई एकैपटक तानिएको हो ।

गणपति एसपी निर्मल कुमार थापालाई सशस्त्र प्रहरी बलको बराह बाहिनी, पकलीमा तानिएको छ । उनको स्थानमा अर्का एसपी ज्ञानमणि पौडेललाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जना सशस्त्र प्रहरीको सम्पूर्ण सेट परिवर्तन गरिएको छ। कटवालको स्थानमा निरीक्षक भुपाल खड्कासहित नयाँ टोली खटाइएको हो ।

सिटी सफारी चालक विजय साहमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

गत बुधबार राति भारतबाट तस्करीको चिनी लिएर नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक ड्युटीमा रहेका खतिवडाले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको सत्यतथ्य पत्ता लगाउन सशस्त्र प्रहरी प्रधान कार्यालयले एसएसपी रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको दुबै समितिले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077