काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि आह्वान गरेको ‘विशेष महाधिवेशन’को पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहित प्रभावशाली नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनील शर्मा एकसाथ महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन् ।
संस्थापन पक्षको असहमति जनाउँदा जनाउँदै पुस २७ र २८ गते हुन लागेको विशेष महाधिवेशनको तयारीको अवलोकन गर्न शुक्रबार यी तीनै जना नेताहरू भृकुटीमण्डप पुगेका हुन् ।
विशेष महाधिवेशनको तयारी भइरहेको स्थलमा पुगेर महामन्त्री शर्माले पार्टीको विधानबमोजिम प्रक्रिया पूरा भएपछि विशेष महाधिवेशनले वैधानिकता पाउने धारणा राखे ।
उनले आफू कुनै गुट वा संस्थापन इतर भन्नुभन्दा पनि पार्टीको महामन्त्रीको हैसियतले विधि र विधानको पालना भए–नभएको हेर्न आएको स्पष्ट पारे ।
शर्माले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण हुने र सोही अनुसार महाधिवेशनले गर्नुपर्ने आवश्यक विषयहरूमा प्रवेश गर्ने बताए ।
उनले पार्टीका सबै नेताहरूप्रति आफ्नो श्रद्धा रहेको भन्दै कसैलाई होच्याउने वा अनादर गर्ने पक्षमा आफू नरहेको तर विधानको व्यवस्था अनुसार काम हुनुपर्नेमा जोड दिए ।
पुस २७ गते नै विशेष महाधिवेशन तोकिएको सन्दर्भमा उनले लोकतन्त्रमा एउटै मितिमा धेरै गतिविधि हुन सक्ने भन्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । उनले आयोजक साथीहरूले उठाएको ‘विनम्र तर बुलन्द’ भन्ने नाराको प्रशंसा गर्दै प्राविधिक र राजनीतिक दुवै पक्ष मिलेर जानुपर्ने सुझाव दिए ।
त्यसैगरी नेता डा. चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन र एकताको सन्देश दिन आफूहरू एउटै गाडीमा आएको बताए ।
उनले पार्टीभित्र देखिएको निराशा र डिप्रेसनजस्तो अवस्थालाई चिर्न युवाहरूको यो अभियान सकारात्मक रहेको टिप्पणी गरे । भण्डारीले विश्वप्रकाश शर्मा र गगन थापा पार्टीको वर्तमान र भविष्य दुवै भएको उल्लेख गर्दै अरूभन्दा उनीहरूको काँधमा धेरै जिम्मेवारी रहेको बताए ।
त्यस्तै डा. सुनील शर्माले भने संस्थापन पक्षले पेलेर जाने नीति लिएका कारण विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता आइपरेको बताए । उनले विशेष महाधिवेशनका लागि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर जुटिसकेको दाबी गरे ।
सुरुमा २३–२४ जिल्लाबाट हस्ताक्षर आएकोमा पछिल्लो समय २५० भन्दा बढी साथीहरू थपिएको र यो संख्या अझै बढ्ने उनको भनाइ थियो । उनले पार्टीमा टिकट वितरणमा अन्याय भएको र ४० प्रतिशतको मागलाई बेवास्ता गरिएको गुनासो गरे ।
विधानअनुसार विशेष महाधिवेशनको माग गर्दा पनि नेतृत्वले सुनुवाइ नगरेपछि साथीहरू स्वतःस्फूर्त रूपमा यो अभियानमा होमिएको उनले स्पष्ट पारे । उनले विश्वप्रकाश र गगनजीहरूकै राजनीतिक भविष्य यस पार्टीमा रहेकाले उहाँहरूले नै निकास दिनुपर्ने धारणा राखे ।
भृकुटीमण्डपमा मञ्च र टेन्ट निर्माणको काम धमाधम भइरहेको छ ।
यता, संस्थापन पक्षीय ३० केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन् ।
शुक्रबार बिहान ललितपुरमा बैठक बसेर उनीहरूले अपिल जारी गरेका हुन् । ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ,’ उनीहरूले अपिलमा लेखेका छन्–‘अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तह लाई हार्दिक अपिल गर्दछौँ।’
साथै केन्द्रीय सदस्यहरूले २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी कांग्रेसलाई निर्वाचनमा जनताको विश्वसनीय र थप भरोसा योग्य पार्टी बनाउन पनि आग्रह गरेका थिए । परिवर्तन र रूपान्तरणका मुद्दालाई अङ्गाल्दै नयाँ सोच र दृष्टिकोण का साथ निर्वाचनमा जानुपर्ने अपिलमा उल्लेख छ ।
अपिल जारी गर्ने केन्द्रीय सदस्यहरूमा आङगेलु शेर्पा, सङ्ग्रौला, उदय शमशेर राणा, अर्जुन जोशी, पुष्पा भुसाल, राजेन्द्र केसी, देवेन्द्रराज कँडेल, नानु बास्तोलासहितका सदस्यहरू छन् ।
यसैबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि विशेष महाधिवेशन अहिलेको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीका लागि हित हुने बताएका हुन् ।
उनले भने–‘विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन । पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ ।’
अहिले पार्टीका नेताहरूकाबीचमा प्रतिष्पर्धा गर्ने बेला नभइ निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भएको उनले भनाई थियो । उनले आफूहरू पार्टी एकताको पक्षमा, समझदारीको पक्षमा, कार्य सम्पादन समितिले गरेको निर्णयको पक्षमा लागिरहने बताए ।
विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति छन् भन्ने अलग कुरा रहेको भन्दै सिटौलाले विशेष महाधिवेशन अहिलेको आवश्यकता नरहेको स्पष्ट पारे ।
निर्वाचनको तयारी गर्नुपर्ने बेला पार्टीभित्र भएको खैलाबैला उचित नभएको उनको भनाइ छ ।