काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय सार्वजनिक गरेका हुन्।
विश्वकर्माले बदलिँदो विश्व राजनीति र नेपालमा आवश्यक नयाँ ढाँचाको राजनीति तथा जनप्रतिनिधित्वका लागि नयाँ पुस्ताले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे।
‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढाँचाको राजनीति र जनप्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु,’ उनले लेखेका छन्।
उनले पार्टीका आधिकारिक उम्मेदवारलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि जनाए।
‘जो रूख चुनाव चिन्हको आधिकारिक उम्मेदवार बन्नुहुन्छ, उनलाई मन, वचन र कर्मले साथ समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसका सबै उम्मेदवारहरूलाई विजयको शुभकामना व्यक्त गर्दछु,’ विश्वकर्माले भने।
बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै सबै नेता–कार्यकर्ता एकै स्वर र एउटै चुनाव चिन्ह लिएर आ–आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण बनाउने प्रयासमा सकारात्मक संकेत देखिन थालेकोमा आफूलाई खुशी लागेको पनि उनले बताए।