सरस्वती पूजा, जसलाई बसन्त पञ्चमी वा श्रीपञ्चमी पनि भनिन्छ, वैदिक धर्ममा विद्या, वाणी, कला र संगीतकी देवी सरस्वतीको सम्मानमा मनाइने महत्वपूर्ण पर्व हो ।
यो पर्व माघ शुक्ल पञ्चमीका दिन मनाइन्छ, जसलाई समग्र विश्वमा हिंदू समाजमा विशेष उत्साहका साथ मनाउने गरिन्छ। जसमा बालबालिकाहरूको अक्षरारम्भ गरिन्छ र विद्यार्थीहरूले सरस्वती देवीको पूजा गरेर ज्ञान प्राप्तिको आशीर्वाद माग्छन्।
तर बिडम्बना आजसम्म हामीले आज मन्त्रको अर्थ, देवीको अर्थ न थाहा पाएर हामी धेरै हदसम्म उस्तै छौँ, पर्व आउछ फेरि दोहोरिँदै जान्छ। गहिरो प्रतिकात्मक अर्थलाई न बुझेर हामी सतही अनुष्ठानमा मात्र सीमित हुन्छौ जसले गर्दा हामी साचो उपासनाबाट बंचित हुन्छौ।
हामीले यो बुझ्न अति आवश्यक छ बसंत पंचमी केवल अनुष्ठान मात्र होइन, यो आत्मज्ञान र आत्मजागरणको प्रतीक हो। बसन्त पञ्चमी विद्या की देवी सरस्वतीलाई समर्पित छ।
यस पर्वले हामीलाई स्मरण गराउँछ कि जीवनमा पूर्णता प्राप्त गर्न धन (लक्ष्मी), शक्ति (दुर्गा) र विद्या (सरस्वती) तीनैको आवश्यकता पर्छ। आफु भित्र देवी सरस्वतीलाई प्रकट गर्न हामीले पहिले आफूलाई शिक्षित गर्नुपर्छ।
देवी सरस्वतीलाई केवल मूर्ति पूजामा सीमित नराखी, व्यावहारिक शिक्षा र आत्मज्ञानमा जोड दिनुपर्छ। अहिले लक्ष्मी (समृद्धि) र सरस्वती (विद्या) दुवैको कृपा पश्चिमी देशहरूमा चम्किरहेको छ, जसले पूर्वीय आध्यात्मिकता र पश्चिमी प्रगतिको संयोजनलाई संकेत गर्छ।
वेदांतका अनुसार सरस्वती पूजा विद्या र अविद्याको भेद बुझाउने अवसर हो। शिक्षा दुई प्रकारको हुन्छ " विद्या र अविद्या।"
हामी सोच्छौं कि विद्या नभए पनि अविद्या हामीलाई मद्दत गर्छ, सुधार्छ र राम्रो जीवन दिन्छ।" श्रुति भन्छ 'जब तपाईं विद्या र अविद्या दुवैलाई सँगै जान्नुहुन्छ, तब मात्र साँच्चै जान्नुहुन्छ।'
यसैले, शिक्षा प्रणालीमा दुवैको समावेश हुनुपर्छ ताकि युवाहरूले गहिरो समझ प्राप्त गरोस्। तर हामी आजकाल सरस्वती पूजामा पीला वस्त्र लगाउने र अनुष्ठानमा मात्र सीमित हुने गर्दछौ सरस्वतीको उपासना पीला वस्त्र लगाएर रितिरिवाज मात्र गरेर पुग्दैन, हामीले सोध्नुपर्छ, जिज्ञासा राख्नु पर्छ वास्तवमा "विद्या भनेको के हो?"
हाम्रो श्रुति ग्रन्थमा भनिएको छ,
अन्यदेवाहुर्विद्यया अन्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणां येनस्तद्विचचक्षिरे ॥ (ईशावास्य उपनिषद्, मन्त्र १०) अर्थात विद्याको फल अलग हुन्छ र अविद्याको फल अलग हुन्छ। यसरी हामीले ती धीर पुरुषहरूबाट सुनेका छौँ,
जसले हामीलाई यसको यथार्थ अर्थ बुझाएका थिए।
एआई, रोवर्ट, विज्ञान, कला, राजनीति, अर्थशास्त्र, समाजशास्त्र आदि बाह्य ज्ञानलाई, स्कुल, विश्वविद्यालयका सबै विषयहरूलाई, अविद्या भनिन्छ। संसार अन्तर्गत कुनै पनि विषयको ज्ञान अविद्या हो। जब हामी संसारतर्फ हेर्छौं, इन्द्रियहरू र मनको प्रयोग गरेर सूचना, जानकारी सङ्कलन गर्छौं, र ज्ञान निर्माण गर्छौं, त्यो अविद्या हो।
अविद्यालाई अपराविद्या, सांसारिक ज्ञान पनि भनिन्छ।जब हामी आफैंलाई हेर्छौं, तब मन, बुद्धि र अहंकारको सम्पूर्ण संरचनाको, र व्यक्तित्वको पूर्ण व्यवस्थाको झलक पाउँछौं। यो आत्मअहंकार नै संसारको द्रष्टा र पर्यवेक्षक हो। आफूतर्फको यो ज्ञानलाई, आफ्नो धारणाको जान्नेलाई, विद्या भनिन्छ। विद्यालाई पराविद्या पनि भनिन्छ।
विद्या केवल मनको अध्ययनको क्षेत्र होइन यो आध्यात्मिक मुक्तिका लागि मनको रहस्यमय लालसासँग निकटता, र समाधान पनि हो। हाम्रो शिक्षाप्रणालीमा विद्या चाहिन्छ ताकि युवाहरू र विद्यार्थीहरूलाई मन र जीवनबारे अन्तर्दृष्टि मिलोस्।
'म को हुँ र मेरो यो दृश्यमान संसारसँग के सम्बन्ध छ?' उनीहरूलाई यो मौलिक प्रश्नसँग रचनात्मक तरिकाले परिचित गराउनु पर्छ। उनीहरूलाई थाहा हुनुपर्छ कि उनीहरू संसारतर्फ किन दौड्छन्, संसारसँग कस्तो सम्बन्ध राख्छन्, र जीवनमा के हासिल गर्न योग्य छ।
अविद्या ब्यावहारिक जीवनयापनका लागि निस्सन्देह आवश्यक छ। त्यसले मनलाई संसारबारे ज्ञानले भरिदिन्छ, र तब यस्तो लाग्छ जस्तो संसार नै सबथोक हो। यसको एक दुष्परिणाम यो हो कि व्यक्ति केवल भौतिक संसारसँग आफ्नो पहिचान बनाउन थाल्छ, र आफू र अरूका लागि दुःखको निर्माण गर्छ।आज संसारभरि हामी विद्या कीमतमा अविद्याको अधिकताका विषाक्त परिणामहरू देखिरहेका छौं।
मानिस आज भौतिक ब्रह्माण्डबारे धेरै कुरा जान्दछ, तर आफूबारे धेरै कम। यी परिस्थितिहरूमा विद्या, जो भित्री जगतको शिक्षा हो, हाम्रो शिक्षाको बाँकी भागहरूको तुलनामा हजार गुणा बढी मूल्यवान छ।विद्या र अविद्या दुवैलाई एकसाथ जान्नु पर्छ।
'विद्यां चाविद्यां च यस्तद्वेदोभ्य सह।
अविद्यया मृत्युं तीर्त्वाऽमृतमश्नुते॥
(ईशावास्य उपनिषद्, मंत्र ११)
अर्थात जो विद्या र अविद्या दुवैलाई एकसाथ जान्दछ, ऊ अविद्याबाट मृत्युलाई पार गरेर विद्याबाट अमृतत्व प्राप्त गर्दछ। शास्त्रहरू भन्छन्, 'जब तिमी विद्या र अविद्यालाई एकसाथ जान्छौ, तब मात्र तिमी केही जान्न सक्छौ।' यो सूत्र दुवैका लागि अत्यन्त महत्वपूर्ण छ भौतिक प्राप्तिका आकांक्षीका लागि, र आध्यात्मिक साधकका लागि पनि।
भौतिकवादीले यो धारणा छोड्नुपर्छ कि आध्यात्मिक प्राप्ति बिना वास्तविक भौतिक सफलता प्राप्त गर्न सकिन्छ। र अध्यात्मवादीले यो धारणा छोड्नुपर्छ कि आध्यात्मिक प्रगति भौतिकताबाट पूर्ण रूपमा पृथक छ। आध्यात्मिकता र भौतिकतालाई सँगै चल्नुपर्छ।
हाम्रो भौतिक जीवन हाम्रो आध्यात्मिक यात्रासँग ईमानदारीपूर्वक कदमबाट कदम मिलाएर चल्नुपर्छ। भित्री र बाहिरी एक हुनुपर्छ। र जब यी दुवै एक हुन्छन्, तब उपनिषद् भन्छन् कि व्यक्ति सबै आशंकाहरूमाथि विजय प्राप्त गर्दछ र कालातीत निश्चिन्तताको आनन्द लिन्छ।
हामीले सोध्नुपर्छ कि उपनिषदहरूमा अविद्या र विद्या दुवैलाई महत्वपूर्ण किन मानिएको छ। हामीले चिन्तन गर्नुपर्छ कि विद्यालाई किन उच्च शिक्षा भनिन्छ। यो चिन्तनले हामीलाई आजका तमाम भयावह चुनौतीहरूको जडसम्म पुग्न मद्दत गर्नेछ चाहे त्यो विश्वयुद्ध होस, जलवायु परिवर्तन हो, प्रजातिहरूको विलुप्ति, संप्रदायवाद, अन्ध आत्मविनाशकारी उपभोक्तावाद, वा मानसिक रोगको महामारी।
हामी देख्नेछौं कि यीमध्ये धेरै हाम्रा स्वरचित समस्याहरू हुन् जो विद्या वा आध्यात्मिकताको उपेक्षाबाट बढिरहेका छन्। त्यसैले हामीले यो पावन सरस्वती पर्वको अवसरमा विद्यालाई यसको उचित स्थान दिनुपर्छ। आध्यात्मिकतातर्फ बढी ध्यान, समय र स्रोतहरूको निवेश गर्नुपर्छ।
वेदान्त जस्ता उच्चतम श्रुति दर्शनहरूको अध्ययनलाई संस्थागत रूप दिनुपर्छ, सन्तहरूका सुन्दर गीतहरूलाई मुख्यधारा संस्कृतिमा प्रवेश गर्ने अवसर दिनुपर्छ, उपनिषदमा उल्लेखित ऋषिहरुका कालजयी मन्त्रहरु बुझ्न सबैले खोजी गर्नु पर्छ, जिज्ञासा गर्ने संस्कृतिको बिकास गर्नु पर्छ।
साँचो पूजा भनेको विद्या प्राप्ति र गरिमा हो, न कि केवल कर्मकाण्ड। यदि हामी साच्चै नै देवी सरस्वतीको कृपा प्राप्त गर्नु छ भने हामीले विद्यालाई सम्मान दिनुपर्छ। यदि विद्या प्रति आदर छ, आफुलाई, बाहिरी संसारलाई जान्नमा हामी अग्रसर छौ भने सरस्वती पुजा फलदायक हुन्छ।
सरस्वती पूजा हाम्रो लागि बिशेष हो, जसले हामीलाई बाहिरी ज्ञान (अविद्या) र भित्री आत्मज्ञान (विद्या) दुवैको महत्व बुझाउँछ।
देवीलाई पूज्नु भनेको विद्या पूज्नु हो। तसर्थ, यस पर्वलाई केवल रितिरिवाजमा सीमित नराखी, साँचो विद्या प्राप्तिमा समर्पित गरौं। सरस्वती देवीले सबैलाई ज्ञान र विवेक प्रदान गरून्।