मेरो प्यारो अछाम र अछामबासी दाजुभाइ तथा दिदीबहिनीहरू,आदरणीय ज्येष्ठ नागरिक, ऊर्जावान युवा साथीहरू, म आज यहाँ कुनै पदको दाबी गर्न होइन,हामी सबैले भोगिरहेका यथार्थबारे खुला कुरा गर्न उभिएको छु ।
अछामको विकास मै गर्छु भन्ने ठूला ठूला भाषण बर्षौ देखि सुन्यौं । तर, कुरा र काममा कहिल्यै तालमेल मिलेन । अछामको विकास कुनै एक व्यक्तिको होइन,हाम्रो सामूहिक जिम्मेवारीको विषय हो ।
हामी सबैले देखेका छौं, चुहिने छानामुनि पढ्न बाध्य बालबालिका, सामान्य उपचार नपाएर दुःख पाउने बिरामी,सीप र अवसर नपाएर बिदेसिन बाध्य युवा, यी सवाल र समस्या नयाँ होइनन् । तर अब समाधानको तरिका नयाँ हुनुपर्छ ।
विकास ठूला पद लिएर ठूला भाषणले होइन,सानो तर निरन्तर कामले हुन्छ । गाउँको वास्तविक समस्या नबुझी बनाइएका योजनाकागजमै सीमित हुन्छन् ।
त्यसैले अब आवश्यकता छ :
१. गाउँ केन्द्रित योजना
२. आवश्यकतामा आधारित प्राथमिकता
३. सुनुवाइ हुने शासन प्रणाली ।
हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । कृषिलाई उद्यमसँग जोड्नै पर्छ । शिक्षाका लागि आबश्यक छ सुरक्षित विद्यालय भवन, पर्याप्त शिक्षक,र प्रविधिसँग जोडिएको सिकाइ । यी आधार बिना शिक्षामा फड्को मार्न सकिदैन र शिक्षा बिना भविष्य बलियो बन्न सक्दैन ।
स्वास्थ्य सेवा पहुँचयोग्य हुनुपर्छ । सामान्य बिरामी हुँदा धनगढी, काठमाडौं, लखनऊ, दिल्ली वा जिल्ला बाहिर जानुपर्ने अवस्थाहाम्रो तितो यथार्थ हो । तर, त्यसलाई बदल्न सकिन्छ । स्थानीय सरकारसँग केन्द्रलाई जोड्ने पुलको काम गर्ने सांसदले हो ।
तर, त्यो नै आजसम्म सही तरिकाले भएन । स्थानीय स्वास्थ्य चौकी बलियो बनाउने,जनशक्ति र उपकरणको व्यवस्था गर्ने यी कुरामा अब गम्भीरता चाहिन्छ ।
रोजगारी र सीप विकास अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । हाम्रो युवा शक्ति बाध्यता होइन, सम्भावना हो । तर, त्यो सम्भावनालाई हामीले बुझ्न र छाम्न सकेनौं ।
यदि सही तालिम, सहुलियत र मार्गदर्शन पायो भनेअछाममै उद्यम, कृषि, पर्यटन रखेलकुदबाट अवसर सिर्जना गर्न सकिन्छ । खेलकुदलाई पनि अब “फुर्सदको गतिविधि” भनेर हेर्ने समय सकियो । यो अनुशासन, स्वास्थ्य, र अवसरको माध्यम हो ।
हरेक स्थानीय तहमा खेल पूर्वाधार र प्रतियोगितायुवालाई सकारात्मक दिशामा लैजाने बलियो माध्यम बन्न सक्छ। अछामका लागि सबैभन्दा महत्वपूर्ण आधार कृषि हो । तर आजसम्म कृषि प्रणालीको सुधारमा कुनैपनि दल, नेता, सांसदको चासो पुगेन ।
स्थानीय सरकारसँग घनिभूत छलफल भएन । कृषिलाई परम्परा होइन, प्रविधि, प्रशोधन र बजारसँग जोडिएको सम्मानित उद्यम बनाउँदै गाउँमै रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने आधार बनाउन सकिन्छ । नेपालकै सबैभन्दा बढी सम्भावना अछाममा छ ।
विकासको अर्को महत्वपूर्ण पक्ष हो । निर्णय प्रक्रियामा जनताको सहभागिता । मलाई लाग्छ आजसम्म कुनै पनि दल र उम्मेदवारले विकास र आबश्यकताका विषयलाई जनतालाई सोध्ने चाहानै गरेनन । अब त्यसलाई तोड्नुपर्छ ।
नीति र विकास माथिबाट मात्र होइन,तलबाट उठेको आवाजका आधारमा बन्नुपर्छ । हामीलाई यस्तो प्रणाली चाहिएको छ जहाँ
नागरिकको कुरा सुनियोस् । समस्या दर्ता भएपछि त्यसको समाधनका लागि निरन्तर प्रयास होस् । समाधानका लागि समुदाय नै साझेदार बनोस् ।
अछाम भौगोलिक रूपमा दुर्गम हुन सक्छ,तर सम्भावनामा दुर्गम छैन । रामारोशनका घाँसे मैदान,बान्नीगढी जयगढका बस्ती,मेल्लेखका गाउँहरु,साँफेबगरयी सबै ठाउँ विकासको नक्सामा बराबरीका हकदार हुन् ।
अब योजना त्यहाँबाट सुरु हुनुपर्छ । जहाँ आवश्यकता सबैभन्दा धेरै छ । हामीले नेतृत्वको परिभाषा पनि बदल्नुपर्छ । नेतृत्व भनेको आदेश दिनु होइन सुन्ने क्षमता हो । नेतृत्व भनेको दूरी होइन, नजिकको सम्बन्ध हो ।
नेतृत्व भनेको वाचा होइन, जवाफदेहिता हो । यदि हामी यी मूल्यहरूलाई आधार बनायौँ भनेअछामको कथा “पछाडि परेको जिल्ला” बाट“उठ्न थालेको जिल्ला” मा बदलिन सक्छ । यो परिवर्तन कुनै एक दिनमा सम्भव त हुँदैन,तर सही दिशा समातेपछिहरेक सानो कदमले ठूलो परिणाम दिन सक्छ ।
हामी सबै मिलेरयो माटो,यो युवा शक्ति,यो सम्भावनालाईनयाँ दिशामा लैजान सक्छौं । आउनुहोस् यस्ता सम्भावनालाई वास्तविकतामा बदल्ने सोच, सीप र प्रतिबद्धताका विषयमा बहस गरौं । म हरेक नेता, दल, युवा, व्यक्तिसँग बहस गर्न तयार छु । समय आएको छ, अछामको माटो र अछामीको भावना बुझ्ने सही नेतृत्व छानौं । जय अछाम ।
दिपक साउँद, अछाम-१ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।