काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले कसुरजन्य सम्पत्तिको एकीकृत विवरण राख्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन्।
आइतबार कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनपछि गृहमन्त्री अर्यालले विभिन्न अनुसन्धानकारी निकाय र अदालतबाट प्राप्त हुने कसुरजन्य सम्पत्तिलाई प्रविधिको प्रयोगमार्फत प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
मन्त्रालयका अनुसार अनुसन्धानकारी निकायहरूबाट प्राप्त रोक्का तथा नियन्त्रणमा रहेका सम्पत्ति र अदालतबाट प्राप्त फैसलाका आधारमा एकीकृत प्रणाली विकास गर्न निर्देशन दिइएको हो। यस्तो प्रणालीमार्फत सम्पत्तिको विवरण, अवस्था र व्यवस्थापन प्रक्रिया पारदर्शी तथा व्यवस्थित हुने अपेक्षा गरिएको छ।
गृहमन्त्री अर्यालले सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न विभागको काम थप प्रभावकारी हुनुपर्ने बताए।