काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाजुरामा उम्मेदवार बनेका हेमराज थापाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
बाजुराको मार्तडी–कोल्टी सडक निर्माण ठेक्कासम्बन्धी विषयलाई लिएर थापाले मुख्यमन्त्री बानियाँमाथि अमर्यादित टिप्पणी गरेको उजुरी परेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो।
आयोगका अनुसार उक्त सडक ठेक्का ‘पिएस बानियाँ जेभी’ ले लिएको छ। सडक निर्माणका लागि एक अर्ब ५७ करोड ७५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ८८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
आयोगले मुख्यमन्त्री कार्यालयमै पुगेर धम्की दिएको तथा सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरिएको भन्दै उजुरी प्राप्त भएको जनाएको छ।
सोही आधारमा थापालाई निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ र २५ अनुसार कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र स्पष्ट जवाफ दिन पत्र काटिएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार थापालाई पठाइएको पत्रमा “मुख्यमन्त्रीका सम्बन्धमा अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको हो वा होइन ? उजुरीमा उल्लेख भएअनुसार आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता पालना भएको छ कि छैन ?” भन्ने प्रश्नहरू समेटिएका छन्।
बाजुरामा सडक निर्माणको ठेक्कालाई जोडेर मुख्यमन्त्रीलाई धम्की दिएको आरोप लागेपछि रास्वपाका उम्मेदवार थापामाथि निर्वाचन आयोगले कडा निगरानी र कानुनी प्रक्रिया अघि बढाएको छ।