काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी बदलिएको दाबी गर्दै अब कांग्रेसले सत्ताका लागि जोसँग पनि मिल्ने पुरानो अभ्यास नगर्ने बताएका छन्।
बुधबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले विगतका कमजोरीहरूको समीक्षा गरेर कांग्रेसलाई नयाँ ढंगले रूपान्तरण गरिएको बताएका हुन्।
कांग्रेसलाई बदल्न धेरै मेहनत गर्नुपरेको उल्लेख गर्दै थापाले भने, 'सजिलो थिएन तर, यो गर्नैपर्ने थियो। हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ।'
थापाले कांग्रेस बदलिएको भन्नुको अर्थ केवल अनुहार वा नेतृत्व परिवर्तन मात्र नभएको स्पष्ट पारे। उनका अनुसार यो अब पुरानो कांग्रेस नभई नयाँ सोच र नयाँ दिशामा अघि बढेको कांग्रेस हो।
उनले भने, 'यो पुरानो कांग्रेस होइन, नयाँ बदलिएको कांग्रेस हो। बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन।'
सभापति थापाले बदलिएको कांग्रेसले राष्ट्रहितभन्दा माथि पार्टी स्वार्थ नराख्ने दाबी गर्दै सत्ताका लागि सिद्धान्तसँग सम्झौता नगर्ने बताएका छन्।
उनका अनुसार आवश्यक परे सत्ता नै छाड्न तयार हुने तर सत्तामा पुग्न र टिक्नका लागि जोसँग पनि मिल्ने प्रवृत्ति कांग्रेसले अब नअपनाउनेछ।