काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनै पनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘क्लिकमाण्डु सिम्पोजियम’ कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा कायम गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको बताएका हुन् ।
गृहमन्त्री अर्यालले व्यवसाय, उद्योग तथा लगानीको सुरक्षा गर्नु राज्यको मुख्य दायित्व रहेको उल्लेख गर्दै सरकारले त्यसलाई पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री अर्यालले भने, “व्यवसाय, उद्योग र लगानीको सुरक्षा राज्यको प्राथमिक जिम्मेवारी हो । कुनै पनि नाममा हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैन । जेनजी आन्दोलनको अध्ययनको क्रममा उठाइएका निष्कर्षहरू सरकारका लागि आलोचना मात्रै होइन, सुधारको स्पष्ट रोडम्याप पनि हो ।
राज्य र निजी क्षेत्रबीच विश्वासको पुल पुनर्निर्माण नगरी आर्थिक पुनर्उत्थान सम्भव छैन।” उनले निजी क्षेत्रलाई सुरक्षित वातावरण नदिएसम्म आर्थिक गतिविधि विस्तार हुन नसक्ने भन्दै राज्य र निजी क्षेत्रबीच विश्वासको पुल निर्माण आवश्यक रहेको बताए ।
उनले जेनजी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा हौसलाका साथ काम गर्दै अर्थतन्त्रलाई पुनः चलायमान बनाउन भूमिका खेलेको उल्लेख गरे ।