काठमाडौं । पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् ।
गृह मन्त्रालयले प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् ।
गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरूले नेपाली नागरिकता त्यागेका छन् ।
त्यसैगरी वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू रहेको गृहमन्त्रालयले जनाएको छन् । एनआरएन (गैरआवासीय नेपाली) नागरिकता लिने प्रक्रिया र विदेशी नागरिकसँगको विवाहले गर्दा पनि नागरिकता परित्याग गर्नेहरू छन् ।
अमेरिका, क्यानडा, युरोप जस्ता देशहरूमा बस्न र त्यहाँको नागरिकता तथा सुविधा लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नुपर्ने हुन्छ । विदेशी नागरिकसँग विवाह गरी विदेशमा बस्नेहरूले पनि आफ्नो देशको नागरिकता त्याग्ने गर्छन् ।
नेपालको कानूनले दोहोरो नागरिकताको मान्यता नदिने भएकाले विदेशी नागरिकता लिने प्रक्रियामा नेपाली नागरिकता त्याग्नु अनिवार्य हुन्छ ।
तथ्यांकअनुसार तीन महिनाको अवधिमा कूल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ । वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ । २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भने वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।