काठमाडौं । सिंहदरबारको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी बैठकमा नवनिर्वाचित सङ्घीय सांसदहरूको शपथ ग्रहणदेखि संसद् अधिवेशन सञ्चालनसम्मको समग्र सुरक्षा तयारीबारे विस्तृत छलफल गरिएको हो।
बैठकमा विशेषगरी सिंहदरबार परिसरभित्रको आन्तरिक सुरक्षा, संवेदनशील स्थानहरूको निगरानी, आगन्तुकहरूको व्यवस्थापन तथा आकस्मिक परिस्थितिको पूर्वतयारीमा केन्द्रित भएर योजना बनाइएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण कार्यक्रम र आगामी संसद् अधिवेशनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन कुनै कमजोरी हुन नदिन निर्देशन दिएका छन्।
उनले ट्राफिक व्यवस्थापन, सुरक्षा संयन्त्रको परिचालन तथा आवश्यक आर्थिक स्रोतको उचित व्यवस्थापन गर्न समेत सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।
बैठकमा सुरक्षा निकायहरूले हालसम्मको तयारीबारे जानकारी गराउँदै आवश्यक सबै व्यवस्था पूरा भइसकेको र कुनै पनि चुनौती सामना गर्न सक्षम रहेको बताएका छन्।