काठमाडौं । मालपोत कार्यालय भरतपुरबाट प्रहरीले १६ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कालिकाका वर्षीय ५० डीलबहादुर भण्डारी, भरतपुर– १० का ४३ वर्षका काशीराम वाग्ले, भरतपुर– ६ का ५९ वर्षका विष्णुप्रसाद शर्मा, भरतपुर– १२ का ४१ वर्षका रामकृष्ण घिमिरे, कालिका–६ का ४९ वर्षका टेकनाथ वाग्ले, भरतपुर– १३ का ४९ वर्षका कमलराज ढुङ्गाना, भरतपुर– ११ का ४२ वर्षका रघुनाथ पौडेल, रत्ननगर–१५ का ३६ वर्षका दिवस बुढाथोकी छन् ।
यसैगरी भरतपुर– ८ का ३८ वर्षका बासुदेव आचार्य, रत्ननगर– १० का ४४ वर्षका कान्छा महतो, खैरहनी–४ का २२ वर्षका गणेश बहादुर नेपाली, भरतपुर– २३ का ५८ वर्षका सुभाष पौडेल, भरतपुर– ९ का ६० वर्षका हरेराम पन्त, भरतपुर–१५ का ४३ वर्षका राम अधिकारी, भरतपुर–१२ का ५२ वर्षका कृष्णप्रसाद रेग्मी र रत्ननगर– ८ का ३५ वर्षका रोहित महतो छन् ।
कार्यालयले अबदेखि सेवा लिन आउने सम्बन्धित व्यक्तिहरू र कानुन बमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय परिसरमा प्रवेश दिइने स्पष्ट पारेको छ।
त्यस्तै, सेवासम्बन्धी काम कारबाही सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन र कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने कार्यालयले जनाएको छ।
साथै, भू-सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन पनि आग्रह गरेको छ।
यसअघि बिचौलिया बनेर हैरानी दिएको आरोपमा काठमाडौंका सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट १६ जना पक्राउ परेका थिए ।
त्यसअघि पनि प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सेवाग्राहीलाई हैरानी दिँदै ‘फास्ट ट्रयाक’मा काम गरिदिने भन्दै रकम असुली गर्ने १५ जनाको गिरोहलाई पक्राउ गरेको थियो ।