काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती हटाउने कार्य सुरु भएसँगै बस्ती खाली हुन थालेको छ ।
उक्त स्थानबाट घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई अस्थायी व्यवस्थापनका लागि दशरथ रंगशालामा स्थानान्तरण गरिएको छ ।
उनीहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने क्रममा महानगर प्रहरी बल र नेपाल प्रहरीले सहजीकरण गर्दै सवारी साधन तथा आवश्यक व्यवस्थापकीय सहयोग उपलब्ध गराएका थिए ।
बस्तीका टहरा हटाउनु अघि आफैँ अन्यत्र जान चाहने बासिन्दालाई पनि सम्बन्धित निकायले गन्तव्यसम्म पुग्न आवश्यक सहयोग गरेको जनाइएको छ ।
सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुम्बासी बस्ती खाली गराएको हो । आज बिहानैदेखि सुकुम्बासी बस्तीका बासिन्दाहरूले आफ्नो सरसामान हटाएका थिए ।
डोजर चल्नुअघि नै उनीहरूको सरसामान हटाइ टहराहरू भत्काएको छ । सरकारले सक्कली सुकुम्वासीको पहिचान नहुँदासम्म अल्पकालिन व्यवस्था गरेको छ । सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ ।
साथै शनिबार र आइतबारका लागि सरकारले नै खाद्य व्यवस्थापनको जिम्मा लिएको जनाइएको छ।