काठमाडौं । सुमनराज अर्याल को अध्यक्षतामा गठित कर्मचारी तलब–भत्ता पुनरावलोकन समितिले सरकारी कर्मचारीको तलब ५७ प्रतिशतसम्म वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी भइरहेका बेला समितिले महँगी, जीवनयापन खर्च र लामो समयदेखि तलब नबढेको अवस्थालाई आधार बनाएर यस्तो सुझाव दिएको हो। सरकारले आगामी जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
समितिले सबैभन्दा माथिल्लो तहका कर्मचारी अर्थात् मुख्यसचिवको तलब ५६.७१ प्रतिशतले बढाउन प्रस्ताव गरेको छ। हाल ७७ हजार २११ रुपैयाँ रहेको मुख्यसचिवको तलब वृद्धि भएपछि करिब १ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
त्यसैगरी कार्यालय सहयोगीको तलब २७ प्रतिशतले बढाउन सिफारिस गरिएको छ। हाल २७ हजार ६१२ रुपैयाँ रहेको तलब वृद्धि भएर ३५ हजार रुपैयाँभन्दा माथि पुग्ने प्रस्ताव गरिएको समितिको सुझावमा उल्लेख छ।
समितिले न्यूनतम र अधिकतम तलबको स्पष्ट सीमा निर्धारण गर्नुपर्ने, महँगीअनुसार नियमित पुनरावलोकन हुनुपर्ने तथा कर्मचारीको सेवा–सुविधालाई समयानुकूल बनाउनुपर्ने सुझाव पनि सरकारलाई दिएको छ।