काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजबाट सुरु हुन लागेको छ।
महाधिवेशनको उद्घाटन ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाले आज दिउँसो १२ः१५ बजे गर्ने भएका छन् ।
संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागिएको हो।
महाधिवेशनमार्फत संगठनलाई थप बलियो र व्यवस्थित बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई प्रभावकारी रूपमा उठाउने लक्ष्य राखिएको छ ।
संघका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी नीति, कार्यक्रम र कार्यदिशा तय गर्नेछ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा शुभेच्छुकहरू सहभागि हुने छन् ।
उद्घाटन समारोहसँगै महाधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने कार्यक्रम छ।